इटहरी : इटहरी २० तरहरामा पकाएको भात बल जसरी उफ्रिएको समाचार पहिलोपटक प्रकाशित भएपछि खाद्य गुण नियन्त्रण कार्यालय सुनसरीले चामलको ल्याव टेष्ट गरेको छ ।

खाद्य गुण नियन्त्रण कार्यालय सुनसरीका प्रमुख बिक्रम लिम्बुले समाचार प्रकाशित भएपछि आँफूहरुलाई फोन आएका कारण ल्याव टेष्ट गराएको प्रतिक्रिया दिए । ‘हामीले ल्याव टेष्ट गराउँदा प्लाष्टिक नेगेटिभ पाईयो,’ उनले भने, ‘त्यो चामलमा प्लाष्टिकको सम्भावना नै थिएन, चामलमा स्टार्च हुन्छ, त्यो प्राकृतिक रुपमा नै हुन्छ ।’ उनले कुनै–कुनै चामल टाँसिने हुने mर सबै चामल त्यस्तो नहुने तर्क गरे । लिम्बुले प्लाष्टिकको चामल हो कि होइन भनेर आँफै पनि चेक गर्न सकिने बताउँदै भने, ‘प्लाष्टिकको चामल हो कि होइन भनेर थाहा पाउँनका लागि आगोमा चामल हाल्दा प्लाष्टिक गनाउँछ, पाक्दैन पनि ।’ उनका अनुसार उक्त चामलमा मिसावट नपाइएकोले मेसिनले नै मिसावट पदार्थ छुट्याउने भएकाले त्यस्तो शंका लागेमा आँफूहरुलाई खबर गर्न सुझाव दिए । ‘चामलबाट अनैतिक रुपमा फाइदा लिन खोज्यो भन्ने कुरा सम्भावना छैन,’ उनले भने ।

इटहरी १०, खनारको दर्शन प्रिमियम मंसुली चामल जय सरस्वती सेलर मिलले उत्पादन गरेको चामलको भात बल जसरी उफ्रिएपछि इटहरी २० तरहराकी गीतामाया थापाले प्लाष्टिकको चामल भएको आशंका गरेकी थिईन् । उनले खानाको टेष्ट अर्कै आएकाले डल्ला पारेर उफार्दा उफ्रिएपछि शंका लागेको बताईन् ।