धरान: खानेपानी संस्थानको सञ्चालक समितिले धरानस्थित शाखाको सम्पत्ति तथा दायित्व हस्तान्तरणबारे अध्ययन गर्न बोर्ड सदस्यलाई धरान पठाएको छ ।

नेपाली कांग्रेसलगायत विभिन्न दलहरुले खानेपानी परियोजना असफल भएको दाबी गर्दै तत्काल संस्थानको सम्पत्ति हस्तान्तण नगर्न ज्ञापन पत्र बुझाए पछि संस्थानको सञ्चालक समितिले यथार्थ बुझ्न सञ्चालक समितिले निर्णय गरेर सदस्य विरेन्द्रकुमार यादवलाई धरान पठाएको हो । सम्पत्ति हस्तान्तरण गर्ने क्रममा केही त्रुटी छ कि छैन ? भनेर समितिले अध्ययन गर्न पठाएको यादवले बताए । ‘सञ्चालक समितिले निर्णय गरेर नै मलाई अध्ययन गर्न धरान पठाएको हो । थुप्रै कुराहरु उठेका छन् । जथाभावी इन्टरकनेक्सन पनि भइरहेको रहेछ,’यादवले भने,‘संस्थानको सम्पत्ति दिइहाल्नुपर्ने अवस्था छ कि छैन ? दिर्नै पर्ने अवस्थामा रोक्नुपर्ने छ कि छैन? यी सबै बिषयमा अध्ययन हुनेछ ।’

khanepani-sasthan-1

यादवले जनता र समाजभन्दा ठुलो केही नहुने भन्दै जनताको अपेक्षा अनुसार आयोजनाले खानेपानी आपूर्ति गर्न सक्ने हो वा होइन भनेर पनि अध्ययन हुने बताए । दैनिक १ करोड ५२ लाख २० हजार लिटर पानी आपूर्ति गर्ने सम्झौता गरेको आयोजनाले अहिले त्यसअनुसार पानी उत्पादन गर्न नसकेको बिषय पनि उठिरहेकोले गम्भीरतापुर्वक अध्ययन गरिने यादवको भनाई छ । ‘जति प्रोडक्सन र सप्लाई गछौं भन्ने सहमति भएको हो, त्यस अनुसार भएको छ कि छैन ? पाइप लाइन स्तरीय हुन्छ भनिएको थियो, तर पोलिथिन पाइल छ भन्ने पनि सुने,’उनले भने,‘आफ्नो पाइपलाइनबाट सप्लाई गर्ने र जोड्ने भन्ने थियो, अहिले धमाधम जथाभावी इन्टरकनेक्सन भइरहेको रहेछ ।’