काठमाण्डौं : नेपालबाट कामदार आपूर्ति गर्ने तयारी गरीरहेको जापानले नेपालका भाषा प्रशिक्षकलाई जापान नै लगेर तालिम दिने भएको छ ।

श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचना जारी गरेर नेपालका भाषा प्रशिक्षकहरुलाई मन्त्रालय मार्फत आवेदनका लागि आव्हान समेत गरेको छ । तालिम लिएर फर्किएपछि प्रशिक्षकले कामको प्रकृति अनुसार भाषा परीक्षाको मापदण्डका बारेमा प्रशिक्षण दिन सक्ने मन्त्रालयले उल्लेख गरेको छ । जापान फाउन्डेसनले कात्तिक १०, ११, १८ र १९ गते भाषा तथा सीप परीक्षा गर्न प्रस्ताव गरेको पनि मन्त्रालयले सूचना मार्फत जानकारी गराएको छ । पहिलो चरणमा जापानले नेपालबाट नर्सिङ केयरमा कामदार आपूर्ति गर्ने जनाइएको छ ।

जापानले पहिलो चरणमा नेपालसहित कम्बोडिया, फिलिपिन्स, म्यान्मार र मंगोलियाबाट कामदार लैजाने भएको छ । जापानले स्पेसिफाइड स्किल वर्कर प्रणाली मार्फत नेपालसंग कृषि, नर्सिङ केयर, सवारी साधान मर्मत लगायतका १४ क्षेत्रमा कामदार लैजाने सहकार्यको समझदारी गरीसकेको छ । भाषा परीक्षा कम्प्युटरमा आधारित हुनेछ । सीप र भाषा परीक्षा उत्तीर्ण गरेर जापान जाने कामदारले ५ वर्ष काम गर्न पाउने छन् ।