औजार : आजको औजार दैनिकमा “बाढी पीडित भोकभोकै, एक हप्तादेखि घरभित्र बाढी” शीर्षकको समाचार छापिएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ९ दलित वस्तिका बाढी पीडितहरु एकसतायता भोकभोकै बसेको गुनासो गरेका छन् । सुनसरी खोलाको बाढी गाउँमा पसेर विस्थापित भएका दलित वस्तीका ४० परिवार असारको बाढीमा राहत नपाएकाले भोकै जसोतसो दिनविताएकोमा फेरी आएको अर्को बाढीले घरघरमा तीन देखी पाँच फीटसम्म बाढीको पानी जमेकाले खाना पकाउन नपाएर भोकभोकै बस्न बाध्य भएका हुन् । बाढीको आएको भएपनि भोट दिएर जिताएको जनप्रतिनिधि र स्थायी सरकार भनिने प्रहरी प्रशासन समेत बाढीको अवस्था र नागरिकको पीडा बुझ्न कोही पनि नआएको पीडितहरुले गुनासो गरेका छन् । शनिबार घर छाडेर सुरक्षित स्थान मानिएको नजिकैको चित्रगुप्त विद्यालयमा विस्थापित भएर बसेकाहरुले त्यसतो गुनासो गरेका हुन । बाढीको कारणले जसोतसो बाचेको जीवनमा विभिन्न रोगको संक्रमण र खाना खान नपाएर भोकै बस्दा शरिर समेत कम्जोर भएको सुत्केरी रिता मलाहाले गुनासो गरिन् । खोलाको नजिकै रहेको सुकुम्बासी दलित बस्तिका नागरिकहरु विस्थापित भएर बस्दा समेत कोही कतैबाट सहयोग नगरेको र राहत पनि नपाएको मलाहाले बताए । स्थानीय , प्रदेश र संघीय सरकारले राहत र उद्धारकार्य जारी रहेको दाबी गरिरहेको भए पनि नरसिंहमा बाढीका कारण विस्थापित भएकाहरु खाने कुराको अभावमा मारमा परेका स्थानीय समाजसेवी जगदिश यादवले बताए । खोलको बाढीबाट विस्थापित एक सय सर्वसाधारणलाई खाने कुरा र पिउने पानीको अभाव भएको यादवले बताए । नजिकै खोला किनारमै रहेको विद्यालयमा अस्थायी शिविर जस्तो बसिरहेका उनीहरुलाई हालसम्म कुनै पनि राहात वितरण नगरिएको पीडित मध्येका सविता मण्डलले बताए । आफूहरुको घरघरमा पानी पसेको , विस्थापित भएको र भोकै बसेको हप्ता लाग्दा समेत कोही पनि नआएको मण्डलको गुनासो छ । वहाँले अरु तिर राहत दिएको सुनेको तर हाम्रो गाउँमा त चाउचाउ र बिस्कुट सम्म पनि नदिएको बताए । खाना खान नसक्ने वृद्धावृद्धा, नवजात शिशु, प्रसुती, गर्भवती महिला, बालबालिका र सुत्केरी बढी मारमा परेका हुन् । खान मात्रै होईन कल (टुवेल) डुवानमा परेकाले बाढी प्रभावित क्षेत्रमा पिउेन पानीको पनि अभाव भएको छ । पानी आपूर्ति हरिनगर गाउँपालिकाको भुटाहाबाट एक घण्टा लगाएर ल्याउने गरेको स्थानीयबासी रामजी खत्वेले बताए ।

त्यसैगरी आजको औजार दैनिकमा “अझै पक्राउ परेनन् तीन वडाध्यक्ष” शीर्षकको अर्को समाचार पनि छापिएको छ । विवाहको विषयमा भएको कुटपिटमा घाइते बनाएका व्यक्तिको मृत्यु भएपछि फरार भएका तीन जना वडाअध्यक्ष सहित आठ जना आरोपीहरु १७ दिन बितिसक्दा पनि प्रहरीले फेला पार्न नसकेको आफन्तले गुनासो गरेका छन् । रोहबरमा भएको छलफलमा कुटपिट हुँदा घाइते भएका विराटनगर १४ का ५५ वर्षीय शमानन्द यादवको उपचारको क्रममा मृत्यु भएपछि फरार भएका विराटनगर १४ नम्बर वडा अध्यक्ष बलदेव यादव, १८ का अध्यक्ष सञ्जय शाह र जहदा गाउँपालिका १ नम्बर वडा अध्यक्ष प्रदिपचन्द्र यादव सहित ९ जना आरोपीहरु प्रहरीले अझै फेला पर्न नसकेको आफन्तले गुनासो गरेका हुन् ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “दुर्गम क्षेत्रका गर्भवतीको ज्यान जोखिममा” शीर्षकको समाचार छापिएको छ । एकाबिहानै पाँचथरको तुम्बेवा गाउँपालिकाका अध्यक्ष होमनाथ थापाको फोनमा घण्टी बज्यो । उयनले हतार हतार फोन उठाए । फोनमा खबर आयो, “गर्भवती महिलाको ज्यान जोखिममा छ लौ न बचाउनु पर्यो ।” बाढी पहिरोले सडक अवरुद्ध थिए । त्यसपछि उनले विपद् व्यवस्थापन समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीलाई फोन गरी आवश्यक सहयोगको लागि आग्रह गरे । विभिन्न निकायको समन्वयपछि नेपाली सेनाको हेलिकप्टरबाट तुम्बेवा ४ की २० वर्षीय रुपा लावती साँवाको उद्दार भयो । चिकित्सकले दिएको म्यादभन्दा १३ दिनपछि पनि बच्चा जन्माउन नसकेपछि उनलाई नेपाली सेनाको हेलिकप्टरबाट कोशी अञ्चल अस्पताल विराटनगर लगिएको थियो । स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि उनलाई उपचारको लागि लगिएको हो । गर्भवती महिलाको ज्यान जोखिममा परेपछि गाउँपालिकाले विभिन्न निकायसँग समन्वय गरी महिलाको उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए ।

उद्घोष : आजको उद्घोष दैनिकमा “खानेपानी प्रमुखसँग स्पष्टीकरण माग” शीर्षकको समाचार छापिएको छ । प्रदेश सरकार अन्तर्गतको खानेपानी तथा सरसफाई डिभिजन नं. ५ धनकुटाको भोजपुरस्थित सम्पर्क कार्यालयका इञ्जिनियर विजयकुमार यादवले लिएको घुस सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले स्पष्टीकरण माग गरेको छ । प्रमुख यादवले एक कामका लागि २२ लाख घुस लिएको सम्बन्धी उजुरी आएपछि जिल्ला प्रशासन कार्यालय भोजपुरले प्रमुख यादवसँग घटनाको बारेमा लिखित रुपमा जानकारी मागेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए ।