काठमाडौं : लगातारको भारी वर्षाका कारण भारतको मुम्बई शहरका अधिकांश स्थान डुवानमा परेका छन् ।

लगातार २४ घण्टासम्म परेको वर्षा कारण शहरका अधिकांश स्थान डुवानमा परेका हुन् । नदीहरुको जलस्तर बढ्दा मुम्बई आसपासका बदलापुर, सल्लाहनगर, बांगणी क्षेत्रका अधिकांश भाग डुबेका हुन् ।
त्यसैगरी अत्यधिक वर्षाकै कारण मुम्बईको रेलसेवा मात्र अबरुद्ध भएको छैन, दर्जनौं उडान पनि स्थगित गरिएका छन् । भारी बर्षाकै कारण बदलापुर र वांगणीबीचको रेल–वे को ट्रयाक पानीका डुब्दा रेलभित्र फसेका १ हजारभन्दा बढी यात्रुलाई उद्धार गरिएको छ । महालक्ष्मी एक्सप्रेसमा रहेका यात्रुलाई १२ घण्टाको प्रयासपछि हेलिकोप्टरमार्फत् उद्धार गरिएको भारतीय अधिकारीहरुले जनाएका छन् ।

यात्रुलाई उद्धार गरेर सुरक्षित स्थानमा लैजान दर्जनौं डुंगा र दुई वटा वटा हेलिकोप्टर प्रयोग गरिएको थियो । अत्यधिक वर्षा हुँदा मुम्बई र आसपासका क्षेत्र हरेक वर्ष डुवानमा पर्दै आएका छन् । करिब ३ साताअघि पनि अत्यधिक वर्षाका कारण मुम्बई शहरको जनजीवन अस्तव्यस्त बनेको थियो । करिब १ करोड ८० लाख मानिसको दैनिकी कष्टकर बनेको थियो भने २७ जनाले ज्यान गुमाएका थिए ।