धरान: इलाका प्रशासन कार्यालय धरानले गत आर्थिक बर्षमा डेढ करोड बढी राजश्व संकलन गरेको छ ।

आर्थिक बर्ष २०७५/०७६ मा उक्त कार्यालयले १ करोड ६१ लाख ९३ हजार ९ सय रुपैया राजश्व संकलन गरेको हो । कार्यालयले सबैभन्दा बढी राहदानीबाट राजश्व संकलन भएको जनाएको छ । कार्यालयका प्रमुख डोरेन्द्र निरौलाका अनुसार राहदानीबाट कुल १ करोड ५८ लाख १५ हजार रुपैया राजश्व संकलन भएको छ । गत आर्थिक बर्षमा ३ हजार ६८ वटा राहदानी यो कार्यालयबाट बनेको प्रमुख निरौलाले जानकारी दिए । ‘हाम्रो कार्यालयको प्रमुख आम्दानीको स्रोत राहदानी हो, गत बर्ष कुल ३ हजार ६८ वटा बन्यो,’उनले भने,‘अन्यत्रको हेरिकन धरानको यो संख्या अत्यधिक नै हो ।’

धरानस्थित इलाका प्रशासनमा धरानको २० वटा वडा र बराहक्षेत्र नगरको वडा नं १ र २ वडाको पनि क्षेत्र समेटिएको छ । धरानको जनसंख्या करिब डेढ लाख हाराहारी छ भने बराहक्षेत्रको २ वडाको १२ हजार जनसंख्या छ । कुल राहदानीमध्ये साधारण राहदानी २ हजार ८ सय १४ वटा बनेको थियो भने दश बर्षमुनिका नाबालक राहदानी १ सय ६ जनाको बनेको थियो । यस्तै, हराएको बिग्रिएको १ सय ४८ वटा राहदानी नयाँ बनेको इलाका प्रशासन कार्यालय धरानले जनाएको छ ।

कार्यालयका अनुसार द्रुत राहदानी बनाउनेहरुको संख्या १ हजार ५ सय २४ छ । यो राहदानी बनाउन काठमाण्डौं नै पुग्नुपर्ने भएकोले यहाँ राजश्व दाखिला हुदैन । ‘सबैभन्दा बढी हङकङ, बेलायत जानेहरुले नागरिकता बनाउछन्, त्यसपछि पढ्न अष्ट्रेलिया जानेहरुले पनि बनाउछन्,’कार्यालय प्रमुख निरौलाले भने,‘अनि मात्र खाडीमुलुक जानेहरुको संख्या आउछ ।’

यस्तै, संस्था नवीकरणबाट २ लाख ८५ हजार २ सय ५० रुपैया राजश्व संकलन भएको छ । कार्यालयका अनुसार गत बर्ष कुल १ सय ८४ वटा संस्था नवीकरण भएको थियो । हातहतियार नविकरणबाट ९३ हजार ६ सय ५० रुपैया राजश्व संकलन भएको कार्यालय प्रमुख निरौलाले जानकारी दिए । उनका अनुसार गत आर्थिक बर्षमा कुल ६ हजार २ सय ३ जनाले नागरिकता लिएका छन् । ती मध्ये ३ हजार ७ सय ५६ वटा नागरिकता वंशज, २ हजार ३ सय ८२ वटा प्रतिलिपि नागरिकता हो भने ५८ वटा वैवाहिक र ७ वटा वैवाहिक प्रतिलिपि नागरिकता भएको पनि कार्यालयले जनाएको छ ।