धरान : धरान उपमहानगरपालिका वड नम्बर ११ र १७ मा पिउने पानी दुषित भएको भन्दै उमालेर पिउनेबारे जनचेतना कार्यक्रम आयोजना गरिएको छ ।

पिउने पानीमा कोलिफर्मलगायत जिवाणु भेटिएको पाइएपछि कुबिर्ता चोक, बिष्णु चोक, सिमाना चोक र असारे बस्तिमा पानी उमालेर पिउन आग्रहसहितको जनचेतना कार्यक्रम गरिएको हो । २०५५ सालबाट विष्णुपादुका क्षेत्रबाट धरान ११ र १७ का बासिन्दाहरुले आफ्नै लगानीमा पिउने पानीको जोहो गरेका थिए । स्थानीयले पिउने गरेको सोही मुहानको पानीको नमुना परीक्षण गर्दा जिवाणु भेटिएपछि जनचेतनामुलक कार्यक्रम गरिएको हो । उपभोक्ता समितिले उक्त पानीलाई नमुना संकलन गरेर केन्द्रीय खाद्य प्रविधि क्याम्पस हात्तिसारमा परीक्षण गरिएको थियो ।

20190720_223715

केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारका माइक्रोबायोलोजी विभाग प्रमुख धिरेन लिम्बूको पहलमा भएको परीक्षणमा स्थानीयले पिउने पानीमा जिबाणु रहेको रिपोर्ट दिएको थियो । बर्खा लागेसँगै पानीको शुद्धता परीक्षण गराउदा पानी दुषित भएको रिपोर्ट आएपछि उमालेर मात्र पिउन आग्रह गर्दै जनचेतनामुलक कार्यक्रम गरिएको खानेपानी उपभोक्ता समितिकी कोषाध्यक्ष एैसा सुनुवारले जानकारी दिइन् । परीक्षणको क्रममा पिउने पानीमा दिशामा पाईने कोलिफोर्म लगायतको जिवाणु पाएको रिपोर्ट आएको थियो । जिबाणुयुक्त पानी स्वास्थ्यको लागि हानिकारक भएकोले दुवै वडाका वडाबासीहरुलाई पानी उमालेर मात्र पिउन आग्रह गरिएको समितिले जनाएको छ । समितिले विभिन्न ४ स्थानबाट जनचेतना कार्यक्रम थालेको जनाएको छ ।

उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा प्राविधिक सहयोग केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारको माइक्रोबायोलोजी विभागले गरेको थियो । स्थानीयबासीहरुले उपभोक्ता समिति गठन गरेर आफ्नै लगानीमा बिष्णुपादुकाबाट खानेपानीको पाइप बिछ्याएर पिउने पानी ल्याएका थिए । गत बर्ष भदौंमा अरुण कटुवालको अध्यक्षतामा नयाँ उपभोक्ता समिति गठन भएको थियो । खानेपानी समितिमार्फत वडा ११ र १७ का करिब छ सय घर परिवारलाई लाभान्वित छन् ।

तस्बिर: धिरेन लिम्बू