काठमाण्डौं : केही दिन सक्रिय रहेको मनसुन विस्तारै कम सक्रिय हुँदै गएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभागभन्दा दक्षिणतर्फ भएकाले नेपालमा मनसुनी गतिविधि कम सक्रिय हुँदै गएको मौसमविद्ले बताएका छन् ।

तर केहीदिनमा मनसुन फेरि सक्रिय भएर देशभर पानी पर्ने मौसमविद् शान्ती कडेलले बताए । सोमबार काठमाडौ उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसम आशिंकदेखि सामान्य बद्ली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको उनले बताए ।

बगांलको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सुदूर पश्चिमका केही भूभागमा परेकाले अहिले पनि सुदूर पश्चिमका केही ठाउँमा पानी परिरहेको छ । दिउँसो भने देशका अरु ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको कडेलले बताए ।

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका विभिन्न ठाउँमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने संभावना रहेको जनाएको छ ।