काठमाण्डौं : अफ्रिकी मुलुक नाईजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा सशस्त्र विद्रोहीको आक्रमणमा परि ६५ जनाको मृत्यु भएको छ ।

राजधानी मैडुगुरी नजिकैको सो क्षेत्रमा भ्यान र मोटरसाईकलमा आएका सशस्त्र समुहले अन्त्येष्टीमा रहेका सर्वंसाधारण लक्षित आक्रमण गरेको थियो । आक्रमणपछि उनीहरुले स्थानीय घरहरुमा आगजनी समेत गरेका थिए । घटनामा ईश्लामिक अतिवादी बोको हरामको संलग्नताको आशंका छ । त्यहाँ पछिल्लो समय बोको हरामको आक्रमण बढेका छन् । नाईजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले घटनाको निन्दा गर्दै हवाई र स्थल सेनालाई आक्रमणकारी पक्राउ गर्न निर्देशन दिएको छ ।

पश्चिमा शिक्षा, राजनीति र सामाजिक क्रियाकलाप बन्द गरिनुपर्ने तथा ईश्लामिक कानून अनुसार समाज चलाउनुपर्ने मागसहित सरकार विरोधी आन्दोलन चलाएको बोको हरामको त्रास नाईजेरियामा मात्र नभई छिमेकी मुलुक चाड, क्यामरुन र नाईजरसम्म फैलिएको छ । हिंसात्मक गतिविधिमा उत्रिएको सो समूहको आक्रमणबाट एक दशकयता दशौं हजारको ज्यान गईसकेको छ भने २० लाख भन्दा बढी विस्थापित छन् ।