कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “स्पेन लाने नाममा ठगी” शीर्षकको समाचार छापिएको छ । धेरै युवाको रोजाइमा पहिल्लो समय अष्ट्रेलिया, अमेरिका, जापान, स्पेनजस्ता देश बनिरहेका छन् । आकर्षक कमाइ हुने प्रलोभनमा परेर युवा ठगीमा पर्ने गरेका छन् । यसरी नै ठगिएका छन् झापाको वुद्धशान्ति गाउँपालिकाका एकै परिवारभित्रका व्यक्तिहरु । आकर्षक कमाइको प्रलोभन देखाउँदै स्पेन पठाउने भने एउटै परिवारभित्र नातासम्बन्ध पर्ने ६ जना व्यक्तिसँग २० लाख १८ हजार ५ सय रुपैयाँ असुलेर १ युवा एक वर्षदेखि फरार रहेका छन् । विराटनगर पिचरा घर भई सुनसरीको इटहरीस्थित कान्छी चोकमा बस्दै आएका २४ वर्षीय रोशन श्रेष्ठ गैली वैदेशिक रोजगारीका लागि स्पेन पठाइदिने भन्दै पैसा उठाएर एकवर्षदेखि फरार बनेका हुन् । गैलीका विरुद्ध सोमबार श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी परेको छ । ठगी गरेको पुष्टि भएपछि कार्यालयले गैलीलाई पक्राउ गर्न पूर्जी जारी गरेको छ ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “साउनमा खानेपानीको हाहाकार” शीर्षकको समाचार छापिएको छ । वर्षायाम अर्थात् साउनमा पनि उदयपुरको नेपानेमा खानेपानीको हाहाकार मच्चिएको छ । त्रियुगा नगरपालिका १४ नेपाने गाउँमा महिनौदेखि धारामा पानी नआएपछि खानेपानीको हाहाकार मच्चिएको हो । महिनौंदेखि धारामा पानी नआएपछि कि त आकाशको पानी कि त आधा दिन लगाएर खोला धाउनुपर्ने बाध्यता आएको स्थानीयबासीले बताए । आकाशको पानी छानोबाट खसेको बलेसीमा भाँडाकुडा राखी थापेर खानुपर्ने बाध्यता आएको स्थानीय नन्दमायाँ मगरले बताइन् । “खोलाको पानी गाग्रीमा भरी डोकोमा बोकेर घर ल्याउँदा आधा दिन बित्ने भएकाले आकाशको पानी खानुपर्ने बाध्यता छ”–मगरले भनिन् । पानीको मुहानमा मर्मत गर्न जाँदासमेत धारामा पानी नआएको उनले बताईन् । दुई वर्ष पहिले घरनजिकै धारा बनेपछि खानेपानीको ठुलो राहत मिलेको थियो ।

औजार : आजको औजार दैनिकमा “अशक्त बालिकामाथि सामुहिक बलात्कार” शीर्षकको समाचार छापिएको छ । मोरङमा बलात्कार जस्तो जघन्य अपराधको घटना गाउँमै मिलापत्र गरिएको छ । मोरङको रंगेलीमा अशक्त बालिकामाथि भएको बलात्कार १ लाख ५० हजार रुपैयाँमा गाउँमै मिलापत्र गरी सामसुम पार्न खोजिएको छ । गत असार २० गते रंगली नगरपालिका ९ संखुवाथानमा तीन युवाले आगो माग्ने निहुमा १६ वर्षीय अशक्त बालिकामाथि सामुहिक बलात्कार गरेका थिए । बलात्कारको घटना बाहिरिएपछि गाउँका भद्र भलादमी भेला भएर असार २६ गते १ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिएर मिलाउने सहमति गरे । गाउँमै भएको गोप्य पञ्चायतीमा स्थानीय नौं जना सहभागी थिए ।