धरान : धरानका अग्रज पत्रकारद्वय हर्ष सुब्बा र राजकुमार कार्कीलाई सम्मानसहित सात पत्रकारलाई सोमबार धरानमा पुरस्कृत गरिएको छ ।

नेपाल पत्रकार महासंघ सुनसरी शाखाको आयोजनामा धरान उपमहानगरपालिकाले अग्रज पत्रकारद्वय सुब्बा र कार्कीलाई सम्मानित गरेको हो । उनीहरुलाई नगद २० हजार रुपैयाँ राशीले सम्मानित गरियो । कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिब रमेश विष्ट, धरान उपमहानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष एबंम कार्यबाहक मेयर नरेश इवारम र महासंघ सुनसरीका अध्यक्ष अम्बर खड्काले ढाका टोपी लगाई दिएर नगद तथा सम्मानपत्र प्रदान गरेका थिए । सुब्बा कान्तिपुर दैनिकमा आबद्ध छन् भने कार्की ब्लाष्ट टाइम्स दैनिकका प्रधानसम्पादक हुन् । करिब तीन दशक नेपाली पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका उनीहरुलाई अग्रज सम्मान दिइएको हो । यसैगरी, धरान उपमहानगरले प्रत्येक वर्ष दिदै आएका युवा सृजनशिल पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय केदार बस्नेत र शेखरनाथ जोगी पुरस्कृत भए । उनीहरुलाई नगद १५–१५ हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरियो । यो पुरस्कार उपमहानगरले प्रत्येक वर्ष दिदै आएपनि यो भने दुई वर्षपछि प्रदान गरेको हो । बस्नेत औजार दैनिकमा आबद्ध छन् भने जोगी कोशी आवाज सप्ताहिकका सम्पादक हुन् ।

1 22

3 4

यसैगरी, इटहरी उपमहानगरले पनि युवा सृजनशिल पत्रकारिता पुुरस्कारबाट पत्रकारद्वय रोमा रिजाल र कृष्ण भट्टराई जुनेली पुरस्कृत भए । उनीहरुलाई नगद ३५–३५ हजार रुपैयाँसहित प्रशंसापत्र पुरस्कारबाट पुरस्कृत गरियो । इनरुवा नगरपालिकाले पनि युवा सृजनशिल पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय मिकायल आलम र प्रमोद यादवलाई पुरस्कृत गरेको छ । उनीहरुलाई नगद २१–२१ हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरियो ।
यसैगरी, ११ हजार १११ रुपैयाँ राशीको ‘चन्द्र–लक्ष्मी सृजनशिल पत्रकारिता पुरस्कार पत्रकार मनिता चाम्लिङलाई प्रदान गरियो । यो पुरस्कार पत्रकार शालिगराम पाण्डे र मेनुका पाण्डेले आफ्ना बाबु र आमाको स्मृतिमा स्थापना गरेका हुन् । सम्मानीत तथा पुरस्कृत हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिब रमेश विष्ट, धरान उपमहानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष एबंम कार्यबाहक मेयर नरेश इवारम, इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम, महासंघ सुनसरीका अध्यक्ष अम्बर खड्कालगायतले नगद तथा पुरस्कार प्रदान गरेका थिए ।

2 12

यस्तै, महासंघ सुनसरीले धरान र इटहरीका १३ पत्रकारलाई लेखनवृति रकम समेत प्रदान गरेको छ । प्रत्येकलाई जनही २५ हजार प्रदान गरिएको छ । धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिकाको आर्थिक सहयोगमा महासंघले पत्रकारहरुलाई फेलोसिप प्रदान गरेको थियो । जसमा धरानका ९ जना र इटहरीका ४ जना पत्रकार सहभागी थिए । पत्रकारहरुको क्षमता विकास गर्नको लागि फेलोसिप प्रदान गरिएको महासंघ सुनसरी अध्यक्ष अम्बर खड्काले बताए । समाजमा पत्रकारतालाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको र त्यो भ्रमलाई चिर्नको लागि पनि फेलोसिपले महत्वपूर्ण भुमिका खेल्ने बताए । ‘समाजमा पत्रकारितालाई हेर्ने नजर राम्रो छैन, हो त्यसलाई चिर्नको लागि पनि हामीले स्थानीय तहसंग सहयोग मागेर फेलोसिप दिएका हौं’ उनले भने ‘हामीले सबै अग्रज पत्रकार ज्यूहरुबाट गाइड गराएर फेलोसिप तयार गरेका छौं, यसले पत्रकारहरुको लेखन क्षमता बृद्धि भएको विश्वास लिएका छौं ।’

नेपाली सञ्चार जगत रक्षात्मक अवस्थामा–महासचिब विष्ट

नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिब रमेश विष्टले नेपाली सञ्चार जगत अहिले रक्षात्मक अवस्थामा रहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ सुनसरी शाखाले धरानस्थित आफ्नै कार्यालयको सभाहलमा आयोजना गरेको ‘लेखनबृति सम्मान तथा पुरस्कार वितरण’ कार्यक्रमलाई सम्बोधन गदै महासचिब बिष्टले यस्तो बताएका हुन् । उनले केही मिडियाहरुले पत्रकारिताको आचारसंहिता बाहिर गएर गैर–जिम्मेवारीपूर्ण ढंगले अगाडी बढ्दा पूरै सञ्चारजगत रक्षात्मक अवस्थामा रहनु परेको बताए ।

‘नेपाली सञ्चार जगत अहिले रक्षात्मक अवस्थामा छौं’ उनले भने ‘केही मिडियाहरु हामी गैर जिम्मेवारीपूर्ण ढंगले लागेका छौं, त्यसैले हामी रक्षात्मक अवस्थामा बस्नु परेको छ ।’ उनले केही मिडिया गैर जिम्मेवार बनेर अघि बढ्दा सरकारले त्यसलाई नियन्त्रण गर्न खोज्दा समस्या उत्पन्न भएको बताए । उनले आफुहरुले गरेको कमजोरीलाई टेकेर कानुन बन्न लागेको र त्यसले लोकतन्त्रलाई कमजोर बनाउनेतर्फ सचेत गराए । ‘हामीले गरेको कमजोरीलाई टेकेर कानुन ल्याउदैछ’ उनले भने ‘अहिले पनि हामी लेख्न पाउनुपर्ने अधिकार खोज्न बाध्य छौं ।’ उनले पत्रकारिताको आचारसंहितामा रहेर समाचार लेख्न, प्रकाशन, प्रशारण गर्न पत्रकारहरुलाई आग्रह गरे । उनले पत्रकारहरुको पनि शुद्धिकरण गर्नुपर्ने बताउदै उदारबादी पत्रकारितामा जोड दिन आग्रह गरे । उनले पत्रकारहरुको बारेमा पनि सार्बजनिक सुनवाइ गर्नुपर्ने खाँचो औल्याउदै त्यसबाट राम्रो नराम्रो जनताले फैसला गर्ने बताए । ‘पत्रकाहरुको लागि पनि सार्बजनिक सुनवाई राख्नुपर्छ’ उनले भने ‘त्यसबाट राम्रो छ भने राम्रै भन्छ नराम्रो छ भने नराम्रो भन्छ, अनि सच्चिने मौका पाउँछ ।’ उनले मिडिया काउन्सिल विधेयक संशोधनको लागि महासंघले नेकपाको संसदीय दलसम्म पु¥याएको भन्दै ठोस निर्णयको पर्खाइमा रहेकोले अहिले आन्दोलन थाती राखेको समेत बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइटेलले श्रमजिवी पत्रकारलाई न्यूनतम पारिश्रमिकको व्यावस्था हुनुपर्ने बताए । उनले मोफसलमा पत्रकारको खडेरी चलिरहेको बताउदै अब नयाँ पत्रकारको उत्पादनको लागि तालिमको व्यावस्था गर्न जरुरी रहेको बताए । इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले तथ्यमा आधारित रहेर सन्तुलन रुपमा समाचार लेख्न पत्रकारलाई आग्रह गरिन् । उनले तथ्यहिन समाचार दिँदा सम्बन्धीत व्याक्तिलाई मात्र हैन जनतामाथी पनि ठुलो अन्याय हुनेतर्फ सचेत गराए । उनले पत्रकारहरुमाथी उपमहानगरले सधै इज्जत गर्ने बताउदै पत्रकारहरुले पनि नगरको विकासमा सकारात्मक कामलाई पनि उजागर गरिदिनु पर्ने बताए । धरान उपमहानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष एबंम कार्यबाहक मेयर नरेश इवारमले पत्रकारहरुसंग सधै सहकार्य गरेर हिड्न चाहेको बताए । उनले जनप्रतिनिधिले गलत काम गरेको प्रति खबरदारी गर्नुपर्ने बताए । उनले जनताको. काम गर्ने सिलसिलामा कमिकमजारी हुने हुँदा त्यस्तो रचनात्मक ढंगले सचेत गराउन आग्रह गरे ।