ताप्लेजुङ : ताप्लेजुङको एकमात्र विमानस्थल सुकेटार विमानस्थलमा करिब डेढ महिनादेखि उडान हुन सकेको छैन । हरेक वर्ष वर्षामा उडान ठप्प हुँदै आएको उक्त विमानस्थलमा यसवर्ष असार ४ गतेदेखि नै ठप्प छ । मौसम खराब भएकाले उडान हुन नसकेको नेपाल वायुसेवा निगमका स्टेशन इञ्चार्ज राजु कार्कीले बताए ।

जेठ २९ गतेसम्म नियमित उडान भएकोमा त्यसयता असार ४ गते मात्रै उडान भएको थियो । असार ४ गते काठमाडौंबाट यात्रु लिएर आएको जहाजमा प्राविधिक समस्या देखिएपछि यात्रु नलिई फर्किएको थियो । त्यसयता जहाजले उडान भरेको छैन ।

सुकेटार विमानस्थलमा नेपाल वायुसेवा निगमको विमानले साताको सोमबार, बुधबार र शनिबार उडान भर्ने गरेको थियो । मौसम खराबीका कारण उडान स्थगित गरिएको भनिए पनि निगमले स्थगित गरिएको सम्बन्धमा सूचना निकालेको छैन ।

लामो समयदेखि उडान नहुँदा यात्रु मारमा परेका छन् । बर्सेनी मौसम खराबीका कारण उडान ठप्प हुँदै आए पनि यसको विकल्पका बारेमा कतैबाट चासो नभएको स्थानीयबासीको गुनासो छ ।