औजार : आजको औजार दैनिकमा “बलात्कारको घटना मिलाउनेलाई मुद्दा !” शीर्षकको समाचार छापिएको छ । पैसा दिएर सामुहिक बलात्कारको घटना पञ्चायती राखेर गाउँमै मिलाउने ९ जना विरुद्ध प्रहरीले अभियोग दर्ता गराउने निधो गरेको छ । मोरङको रंगेली नगरपालिका ९ की सुस्त श्रवण भएकी बोल्न नसक्ने बालिकामाथि आगो माग्ने निहुँमा २० असार साँझमा भएको सामुहिक बलात्कारको घटना परिवारलाई दबाब दिदै क्षतिपूर्तिको बहानामा १ लाख ५० हजार दिएर मिलाउने ९ जना अगुवा विरुद्ध प्रहरीले मुद्दा दर्ता गराउने भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ स्रोतका अनुसार अपराध जघन्य भएकोले मिलापत्र गराउनेहरुलाई पनि पक्राउ गरेर अभियोग दर्ता गराउने तयारी प्रहरीको छ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “एउटै वडा कार्यालय २ ठाउँमा” शीर्षकको समाचार छापिएको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले जनतालाई सेवा सुविधा दिन सहज होस् भनेर २ वटा कार्यालय स्थापना गरेका छन् । राजधानी विराटनगरमा मुख्यमन्त्रीको मुख्य कार्यालय रहेको छ भने धनकुटामा सम्पर्क कार्यालय खोलेका छन् । प्रदेशको राजधानी धनकुटाले पाउनुपर्ने भन्दै आन्दोलन चर्किरहेका बेला मुख्यमन्त्री राईले आन्दोलन साम्य बनाउनका लागि सम्पर्क कार्यालय केही महिना अघि खोलेका थिए । उनी समय मिलाएर कहिलेकाँही त्यहाँ जाने गरे पनि सो कार्यालयबाट जनताले सेवा लिन भने सकेका छैनन् । यस्तै, मोरङका केही स्थानीय तहमा पनि वडाका सेवा कार्यालय स्थापना गरिएको छ । लेटाङ नगरपालिकाको वडा नम्बर १ मा २ वटा कार्यालय रहेका छन् । एउटा मुख्य कार्यालय र एउटा सेवा कार्यालय रहेका छन् । ती कार्यालय नगरपालिका भन्दा १७ र ६ किलोमिटरको दूरीमा रहेका छन् । ६ किलोमिटर दूरीमा रहेको कात्तिकेमा सेवा कार्यालय र १७ किलोमिटर दूरीमा रहेको साखमा मुख्य कार्यालयको स्थापना गरेर वडा कार्यालयले सेवाग्राहीलाई सेवा दिइरहेको छ ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “सल्लेरी सहकारीका लेखापाल पक्राउ” शीर्षकको समाचार छापिएको छ । सहकारीको करोडौं रकम अपचलन गरी बेपत्ता बनेका अध्यक्ष कृष्ण विकसँग नियमित सम्पर्कमा रहेकी सहकारीका लेखापाल भैरहवा जाने क्रममा काठमाण्डौंको नाकढुंगामा पक्राउ परेकी छन् । धरान १२ को सल्लेरी बचत तथा ऋण सहकारी संस्थाकी लेखापाल कमला विकलाई नाकढुंगामा माइती नेपालले यद्धार गरी आफन्तलाई बुझाएको थियो । उनी अध्यक्ष कृष्ण विकसँग नियमित सम्पर्कमा रहेको र उनैलाई भेटन जानेक्रममा माइती नेपालले सोधपुछपछि नियन्त्रणमा लिएको थियो । त्यसपछि आफन्तले मोरङको बेलबारीस्थित घरमा पठाएपछि अध्यक्ष कृष्ण विकबाट पीडित बनेकाहरुले घरबाटै उनलाई ल्याई धरानस्थित इलाका प्रहरी कार्यालयमा मङ्गलबार साँझ बुझाएका छन् । इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले पीडितहरुले नै बुझाएपछि सोधपुछ गर्ने काम भइरहेको बताए । प्रारम्भिक अनुसन्धानमा अध्यक्षसँग सम्पर्कमा भएको देखिएको डिएसपी न्यौपानेले जानकारी दिए । अधयक्ष कृष्ण विकलाई लेखापाल कमलाले धरानमा भइरहेको गतिविधिको सूचना दिने गरेकी थिइन् ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “पशुपतिनगरको अध्यागमन कार्यालय कामविहीन” शीर्षकको समाचार छापिएको छ । पूवीपहाडकै एकमात्र सहज भारतीय नाका मानिएको पशुपतिनगरमा अध्यागमन कार्यालय औपचारिक रुपमै खुलेको बुधबार ठीक ४ महिना भएको छ । तर, यतिका समयसम्म न यहाँ दरबन्दी अनुसार कर्मचारी आएका छन् न कार्यालयले कामै सुरु गरेको छ । निकै जोड गरिए पनि भारतपट्टी अध्यागमन कार्यालय खुल्न नसक्दा पशुपतिनगरमा निकै दबाबका साथ खुलेको अध्यागमन कामविहीन भएको हो । सीमामा एकतर्फ मात्र अध्यागमन खुलेकाले ४ महिनासम्म यसले कुनै सुविधा दिन नसकेको हो । गत वैशाख १५ गते गृहमन्त्री रामबहादुर थापले अध्यागमन कार्यालयको उद्घाटन गरेका थिए ।