औजार : आजको औजार दैनिकमा “प्रदेश सरकारको बजेटमा भ्रष्टाचारः कामै नगरी ८० लाख झ्वाम” शीर्षकको समाचार छापिएको छ । सुनसरीको भोक्राहा गाउँपालिका वडा नम्बर ८ मा सडक निर्माण नै नगरी ८० लाख रुपैयाँ फर्छौट भएको रहस्य बाहिर आएको छ । यस वडाका वडा अध्यक्ष हातिम अन्सारीले आफ्नै नातेदारहरुलाई उपभोक्ता समितिमा राखी बनाएको फर्जी उपभोक्ता समितिको नाममा झण्डै १९ सय मिटर सडक निर्माणमा अनियमितता गरि ८० लाख रुपैया झ्वाम पारेको स्थानीयहरुले बताएका छन् । हरीलाल खेतदेखि दक्षिण मेहता टोलसम्मको माटो पुरी ग्राभेल गर्ने सडकको उपभोक्ता समितिका कोषाध्यक्ष समिना खातुनले समितिमा नै रहेको थाहाँ नभएको र लाखौं खर्चे सुनेर अनविज्ञता जनाएपछि भ्रष्टाचारको रहस्य बाहिर आएको स्थानीयहरुले बताएका छन् । गत जेठ १३ गते रामनगरभुटाहा ठेगाना भएका अमिन मियाँ र भोक्राहा ठेगाना भएका जब्बर मियाँ अध्यक्ष रहेको छुट्टाछुट्टै उपभोक्ता समितिको नाममा १९ सय मिटर बाटो निर्माणमा कामै नगरी अनियमितता गरेको हो ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “कोशी राजमार्गमा खाल्डैखाल्डा” शीर्षकको समाचार छापिएको छ । २ वर्षअघि सडक डिभिजन कार्यालय विराटनगरले कोशी राजमार्ग अन्तर्गतको धरान–इटहरी सडक मर्मत गरेको थियो । त्यसपछि ३ पटकसम्म सडक मर्मत गरियो । अघिल्लो वर्षपनि दशैअघि सडक मर्मत गरेको थियो । तर वर्षेनी सडक मर्मत तथा टालटुल गरेपनि गुणस्तरीय काम नहुँदा कोशी राजमार्गमा पर्ने धरानका सडकहरुमा खाल्डा बनेका छन् । अहिले पनि खाल्डाखुल्डीमा सवारीचालक र पैदलयात्रीलाई सास्ती भएको छ । जताततै भएका खाल्डाले अहिले मुख्य सडक धराप थापेजस्तै नै छ । बस, टेम्पो, मोटरसाइकल, ट्रक आदि होशियारीपूर्वक चलाउनुपर्ने बाध्यता छ । जति नै गरेपनि सडकको अवस्थामा कहिल्यै नसुध्रिएको स्थानीय विक्रम लिम्बुले गुनासो गरे । भत्किएको, खाल्डाखुल्डी भएको राजमार्गको मर्मत गर्ने निकाय सडक डिभिजन कार्यालय विराटनगर हो ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “ताप्लेजुङमा पानीबाट रोग” शीर्षकको समाचार छापिएको छ । हिमाली जिल्ला ताप्लेजुङमा पानीका कारण लाग्ने रोगका विरामीहरु बढ्दै गएका छन् । पहाडका पानीका मुहानहरु दुषित हुन थालेसँगै जिल्ला अस्पताल ताप्लेजुङमा विरामीको चाप ह्वात्तै बढेको छ । पछिल्लो केही दिनयता दैनिक सयौंको संख्यामा विरामीहरु अस्पताल पुग्ने गरेका छन् । एक हप्ता अघिसम्म दैनिक ५० जना मात्र विरामी आउने गरे पनि चार दिनयता दैनिक १ सय बढी विरामीले स्वास्थ्य जाँच तथा उपचार सेवा लिइरहेको अस्पतालले जनाएको छ । गाउँका स्वास्थ्य संस्थामासमेत रुघा, खोकी र ज्वरोका विरामीको चाप बढेको बताइएको छ । वर्षाका कारण पानीका मुहानहरु प्रदुषित हुने भएकाले अधिकांश पानीजन्य रोगका विरामी आउने गरेको निमत्त अस्पताल प्रमुख डा. सोनिम लामाले बताए ।

उद्घोष : आजको उद्घोष दैनिकमा “कर्मचारीले मागे सेवा सुविधा” शीर्षकको समाचार छापिएको छ । प्रदेशमा समायोजन गरिएको कर्मचारीले आफुले पाउने पारिश्रमिक र सुविधा नपाएको भन्दै मुख्यमन्त्री शेरधन राईलाई १३ वुँदे ज्ञापनपत्र बुझाएका छन् । बुधबार ज्ञापनपत्र बुझाउदै उनीहरुले कर्मचारी समायोजन एन, २०७५ अनुसार पूर्व निर्धारित तहगत स्केल बमोजिम सेवासुविधा दिन माग गरेका छन् । उनीहरुले समायोजित तहमा समायोजन भएको मितिदेखि लागू हुनेगरी सुविधा कायम गर्न माग गरेका छन् । संघीय सेवाका कर्मचारीले सो सुविधा नपाउने हुँदा निर्णय गर्नमा ढिलाई भएकोले कर्मचारी मारमा परेको उनीहरुको दाबी छ ।