झापा : केही दिन यता निरन्तरजसो दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका टावरहरु अज्ञात समूहको निशानामा परिरहेका छन् ।

यसै क्रममा फेरीपनि अज्ञात समूहले झापाको अर्जुनधारा– १० कालिकास्थानमा रहेको एनसेलको टावरमा आगजनीको प्रयास गरेको छ । जुटको बोरामा पेट्रोल छर्किएर आगजनीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार गएराति साढे १२ बजे अज्ञात समूहले टावरमा आगजनीको प्रयास गरेका थिए ।

एनसेल टावरको बिच्छ्याइएको तारमा आगजनीका कारण क्षति पुगेको प्रहरीले जनाएको छ । यस अघि बुधवार राति पनि झापाको भद्रपुर र दमकमा रहेका दुई वटा एकसेलको टावरमा अज्ञात समूहले आगजानीको प्रयास गरेको थियो । प्रहरी नायव उपरीक्षक श्रेष्ठका अनुसार भद्रपुर नगरपालिका– ३ स्थित गोले चोक र दमक नगरपालिका – १ मामा चोक नजिकै रहेका एनसेलको टावरमा आजगजीको प्रयास भएको हो । भद्रपुरको टावर बाहिर आगो लगाउने प्रयास भएको छ भने दमकमा कुकर बम विष्फोट गराइएको थियो ।