धरान : इलाका प्रहरी कार्यालय धरानले एकै रातमा ३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।

प्रहरीले बुधबार राती करिब ८ बजे धरान ८ स्थित तिनकुने चेकपोष्टमा ईटहरीबाट धरानतर्फ आउदै गरेको बस चेकजाँच गर्ने क्रममा धरान २ का ३० बर्षीय सनम शाक्य र धरान ८ का ३६ बर्षीय अभिषेक तामाङ पक्राउ परेका हुन् । शंकास्पद अवस्थामा बसबाट बाहिर निकाली चेकजाँच गर्दा अभिषेकले पछाडी बोकेको कालो झोलामा ठुलो मात्रामा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । झोलाको भित्री भागमा सिलाएको देखेर उक्त सिलाएको भाग उधारी हेर्दा भित्र लागुऔषध भेटिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार उनीहरुको साथबाट लुपिजेसिक ८१ एम्पुल ,एभिल ८१ एम्पुल, डाईजेलाभ ८१ एम्पुलसमेत गरी जम्मा २४३ एम्पुल फेला परेको छ । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । यस्तै, बुधबार मध्यरातमा धरान १३ स्थित सुम्निमा चोकबाट गस्तीमा रहेको प्रहरीले लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ । राती १ बजेको समयमा शंकास्पद अवस्थामा हिडिरहेका धरान १७ का २६ बर्षीय दनि राईलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो ।

उनको शरीर खानतलासी गर्दा पाईन्टको दाँया गोजी भित्र लुकाएर राखेको लागुऔषध भेटिएको प्रहरीले जनाएको छ । उनको साथबाट लुपिजेसिक १० एम्पुल, एभिल १० एम्पुल, डाईजेलाभ १० एम्पुलसमेत गरी जम्मा ३० एम्पुल फेला परेको प्रहरीको भनाई छ । उनलाई पनि इलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।