झापा: झापाको हुलाकी राजमार्ग खण्ड अन्तर्गत १८ वटा साना ठूला पुल पर्दछन् । जस मध्ये १५ वटा पुल निर्माणधिन अवस्थामा छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा नै यति ठुला योजना समयमा सम्पन्न नहुँदा एकातिर जनताले दुःख पाइरहेका छन् भने लागत रकम समेत वृद्धि भइरहेको छ । झापाको पूर्वी सीमा क्षेत्र मेची नदीको निर्माण भएको पुल प्रधानमन्त्री केपी शर्मा ओली उद्घाटन गरेका थिए । नौ पटक शिल्यान्यास भएको उक्त पुल पहिलो पटक शिल्यान्यास भएको ६० बर्ष पछि निर्माण सम्पन्न भएको थियो । जिल्लामा निर्माणाधिन पुलहरु मध्ये यो एउटा प्रतिनिधि अवस्थामा मात्र हो ।

झापामा अहिले पनि १५ वटा पक्की पुल निर्माणधिन अवस्थामा छन् । यी सबै पुलको निर्माण कार्य अति धिमा गतिमा छ । केही आयोजनाका त बर्षौदेखि निर्माणको काम नै पुर्ण बन्द भएका छन् भने केही देखावटीरुपमा मात्र काम भएको छ । निर्धारित समयमा निर्माण सम्पन्न नहुँदा त्यस क्षेत्रका नागरिक सास्ती खेप्न बाध्य छन् । सुगम जिल्ला भएर पनि पुल निर्माण नहुदा अहिले यस क्षेत्रका सर्बसाधारण कष्टकर जीवन निर्भाह गरिरहेका छन् ।

हिउँद भरी बाँसको पुल बर्षायाममा ढुङ्गाको भर पर्नु पर्ने अवस्था छ । ठुलो पानी परेको वेला आवतजावत गर्ने बाटो नहुदा हप्तौँसम्म आफ्नै घरमा थुनिएर बस्नु पर्ने अवस्था रहेको गौरिगञ्ज गाउपालिका वडा नम्बर १ का टंक राईको गुनासो छ ।