झापा: रजिस्ट्रेशन शुल्कमा २५ प्रतिशत छुट दिने सरकारी व्यवस्थाले झापामा जग्गा कारोबार गर्ने महिला तथा महिलाको नाममा जग्गा रजिष्ट्रेशन पास गर्ने संख्या बढेको पाइएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय झापाका अनुसार महिलाको नाममा जग्गा खरिद गर्दा राज्यले रजिस्टे«शन शुल्कमा २५ प्रतिशत छुट दिने तथा जिल्लाका अधिकांश युवाहरू वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने गरेकोले जग्गा कारोबारमा महिलाको संख्या बढेको हो । गत आर्थिक वर्ष ०७५/०७६ मा माई पूर्वका स्थानीय तहरुमध्ये कनकाई नगरपालिका, बिर्तामोड नगरपालिका, अर्जूनधारा नगरपालिका, मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिका, बुद्घशान्ति गाउँपालिका, कचनकवल गाउँपालिका, हल्दीवारी गाउँपालिका, झापा गाउँपालिका र बाह्रदशी गाउँपालिकाबाट जम्मा २५ हजार १७ वटा रजिस्टे«शन पास भएको सूचना अधिकारी तथा मालपोत अधिकृत दीपेन्द्र खत्रीले जानकारी दिए ।

झापामा कुल रजिष्ट्रेशन पास भएको जग्गामध्ये पनि महिलाको नाममा १५ हजार १ सय २३ वटा र पुरुषको नाममा ९ हजार ८ सय ९४ वटा जग्गा रजिस्टे«शन पास भएको सुचना अधिकारी खत्रीले जानकारी दिए । गत आर्थिक वर्षमा १७ हजार ६६ वटा दृष्टिवन्धक पास भएको छ । मालपोतले गत आर्थिक वर्ष रजिस्टे«शन शुल्कतर्फ ४१ करोड ६० लाख ६२ हजार ९ सय ३८ रुपैयाँ तथा पुँजीगत लाभकरतर्फ १९ करोड ६९ लाख ६ सय ५० रुपैयाँ गरी कुल ६१ करोड १९ लाख ६८ हजार ९ रुपैयाँ राजश्व सङ्कलन गरेको अधिकृत खत्रीले बताए ।

मालपोतले आर्थिक वर्ष ०७४/०७५मा जम्मा ४७ करोड ५१ लाख ५३ हजार ९२८ रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । आर्थिक वर्ष ०७५/७६ मा १३ करोड ६७ लाख ८५ हजार ६० रुपैयाँ बढी राजश्व सङ्कलन गरेको उनले बताए । अनलाइन व्यवस्था सुरु भएपछि मालपोतको राजश्व सङ्कलनमा वृद्धि भएको हो’, उनले भने, “विगतका आर्थिक वर्षहरूमा ३० लाख भन्दा माथिको मूल्याङ्कनमा लाभकर लाग्ने गरेको र आर्थिक वर्ष ०७५/०७६ मा १० लाखदेखि मात्र लाभकर लाग्ने सरकारको नियम तथा अनलाइन किनबेच गर्नेको संख्या वृद्धिले हो ।”