काठमाडौँ: प्रदेश नं १ को धरान उपमहानगरपालिकालगायत रिक्त रहेको देशभरको स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको पदमा आगामी मंसिर १४ गते शनिबार उपनिर्वाचन गराउन निर्वाचन आयोगले सिफारिश गरेको छ ।

आज दिउँसो राजनीतिक दलहरुसँगको परामर्शपछि आयोगले सरकारलाई आफ्नो परामर्श सहित मितिसमेत तोकेर सिफारिस गरेको हो । आयोगको सिफारिश पछि अब मन्त्रिपरिषद्‌ले मिति घोषणा गर्न मात्र बाँकी रहेको छ । आयोगले केही सातादेखि नै उपनिर्वाचनको लागि आवश्यक गृहकार्य थालेको थियो । आयोगले तीनै तहको रिक्त भएको कुल ५० स्थानमा एकै दिन निर्वाचन गराउन सुझाव दिएको कान्तिपुरको अनलाइन सँस्करणले समाचार प्रकाशन गरेको छ । मुलुकमा प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३, नगरपालिका प्रमुख– १, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष–१ र वडाध्यक्ष–४१ पदहरु रिक्त रहेको छ ।

आयोगका पदाधिकारीहरुले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग उपनिर्वाचन सन्दर्भमा छलफल गरेका थिए । उक्त छलफल पछि बिहीबार आयोगले राजनीतिक दलहरुसँग परामर्श गरेको थियो । त्यसपछि आजै(बिहिबार) आयोगले मिति पनि सिफारिस गरेको हो । स्थानीय तहको निर्वाचनको मिति आयोगको परामर्शमा सरकारले तथा प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनको मिति सरकारसँगको परामर्शमा आयोगले तोक्ने कानुनी प्रावधान छ । सरकारले स्थानीय तहको मिति तोकेपछि सोही दिन प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गराउने गरी मिति तोक्ने आयोगको तयारी छ।