धरान: धरान १६ स्थित रंगशालामा प्रदेश नं १ कै पहिलो इन्डोर बास्केटवल कोर्ट निर्माण भएको छ ।

उक्त कोर्टको बिहिबार धरानकी कार्यवाहक नगर प्रमुख मञ्जु भण्डारी सुवेदीले उद्घाटन गरेकी थिइन् । उनले कोर्टमा वल प्रहार(बास्केट) गरेर नवनिर्मित कोर्टको उद्घाटन गरिन् । उद्घाटन अवसरमा धरानका पत्रकारहरु र भेट्रान बास्केटवल खेलाडीहरुबीच मैत्रीपुर्ण खेल पनि आयोजना भएको थियो । उक्त खेलमा पत्रकार टोली विजयी भएका थिए । मिनि कभर्ड हलमा धरान नगर खेलकुद विकास समितिले थप लगानी गरेर इन्डोर बास्केटवल कोर्ट स्थापना गरेको हो । यो कोर्ट उपत्यकाबाहिर पोखरा पछिको दोस्रो इन्डोर बास्केटवल कोर्ट हो । प्रदेश नं १ मा भने पहिलो इन्डोर कोर्ट हो ।

यो कोर्ट निर्माण गर्न नगर खेलकुद विकास समितिले २० लाख थप लगानी गरेको समितिका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य सुवास राईले जानकारी दिए । विगतमा राष्ट्रिय खेलकुद परिषदले उसु, तेक्वान्दोलगायत खेल आयोजना गर्न मिल्ने गरी मात्र मिनि कभर्ड हल निर्माण गरेको थियो । उक्त मिनि कभर्ड हललाई बहुउपयोगी बनाउने उद्देश्यलले नगर खेलकुद विकास समितिले थप लगानी गरेर इन्डोर बास्केटवल कोर्ट पनि तयार गरेको हो ।

IMG_0179

समिति अध्यक्ष राईका अनुसार फाइबर बोर्ड, रातमा पनि खेल्न मिल्ने गरी लाइट र २ सय ५० जना क्षमताको प्याराफिट पनि निर्माण गरिएको छ भने महिला र पुरुषको लागि छुट्टा छुट्टै ट्वाइलेट, बाथरुम र चेञ्जिङ रुम पनि निर्माण गरिएको छ । अध्यक्ष राईले भने,‘बास्केटवल खेलप्रति आकर्षण बढ्दै गएकोले पनि लगानी गरिएको हो ।’

इन्डोर बास्केटवल कोर्ट निर्माण भएपछि बास्केटवल प्रशिक्षक, खेलाडी तथा बास्केटवल खेलप्रेमीहरु उत्साहित छन् । यही इन्डोर बास्केटवल कोर्ट थपिएपछि साग खेलकुदको लागि तयारी भइरहेको नेपालको राष्ट्रिय बास्केटवल टिमको बन्द प्रशिक्षण पनि धरानमा हुने निर्णय राखेपले गरिसकेको छ । नेपाल बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष एवं धरान बास्केटवल संघका अध्यक्ष सुरज लामाले बास्केटवल खेलको विकासमा इन्डोर कोर्ट निर्माण कोसेढुंगा सावित हुने प्रतिक्रिया दिए । उनले भने,‘राष्ट्रिय टिमको बन्द प्रशिक्षण पनि यही हुँदैछ, यो ज्यादै खुशीको कुरा हो ।’

IMG_0184