औजार : आजको औजार दैनिकमा “धरानमा डेंगु तिब्र रुपमा फैलदै” शीर्षकको समाचार छापिएको छ । धरानमा डेंगु तिब्र रुपमा फैलिएको छ । पछिल्लो १५ दिनमा ५ सय भन्दा बढीमा संक्रमण देखिएपछि धरानमा डेंगु नियन्त्रण भन्दा पनि फैलिएको तथ्य बाहिरिएको छ । धरानमा गत वैशाख ३१ गते पहिलो पटक डेंगु देखिएको थियो । त्यस पश्चात धरान उपमहानगरपालिकाको रेकर्डमा भए अनुसार २८ सय ३ जनामा डेंगुको संक्रमण भइसकेको छ । पछिल्लो समय साउनको १ गतेदेखि १५ गतेसम्म मात्र ५ सय भन्दा बढिमा डेंगुको संक्रमण देखिएको धरान उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले बताए । बिहीबार धरान उपमहानगरपालिकाको सभाहलमा धरान उपमहानगरपालिका र धरानका पत्रकारहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले डेंगु रोग मात्र नभई सामाजिक समस्या भएकोले हरेक घर, हरेक कोठा, हरेक टोल सफाई गर्नुपर्ने र सोही हिसाबमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान चलाउनु पर्ने बताए ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “बालविवाह रोक्नलाई वडाध्यक्षको अभियन्ता रुप” शीर्षकको समाचार छापिएको छ । बाल विवाहमुक्त वडा घोषित हुन मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर १ लखन्तरीमा निकै मेहेनत पर्यो । सामाजिक संघसंस्थाको बलले मात्र यो काम सम्भव थिएन । सानो उमेरमा विवाह गनु कानुनी रुपमा वर्जित र दण्डनीय पनि हो । जातीय रीतिरिवाजसँगै आदिवासी थारु समुदायको बहुल क्षेत्र हो लखन्तरी । धेरै बाल विवाह हुने स्थानको रुपमा चिनिन्थ्यो । नमोनारायण माझी लखन्तरीमा परिवर्तनको संवाहक बनेर आए । विदेशमा थिए । यताबाट बोलावट आयो । पार्टीले वडाध्यक्षको जिम्मेवारी दिने र टिकट सुरक्षित छ भन्ने खबर पठायो । उनी हान्निएर आए । चुनावमा उठे । जिते । अहिले सम्म वडाध्यक्षमा दरिएका छन् । बाल विवाह रोक्ने अभियन्ताको पनि पहिचान बनाएका छन् । “जिम्मेवारी सम्हालेको कार्यकालको आधा जति हुन लाग्यो,” उनले भने, “पुरापुर समय जनसेवा र बालविवाह विरुद्धमा लगाएको छु भन्दा पनि हुन्छ ।” आदिवासी थारु समुदायको बाहुल्य क्षेत्रको विकास, जनचेतना र राजनीतिक चेतको अभिवृद्धि माझिको प्रमुख जिम्मेवारी थियो ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “भारतीय तरकारी आयात ठप्प” शीर्षकको समाचार छापिएको छ । असार दोस्रो साता सरकारले भारतीय कृषि उत्पादनको विषादी परीक्षण नगरी आयात गर्न नदिने निर्णय गरेपछि हाल काकडभिट्टा नाका हुँदै भित्रिने तरकारीको आयात रोकिएको छ । छोटो समयमा तरकारी सड्ने भएका कारण व्यवसायीले आयात गरेर जाखिम मोल्न नचाहेकोले आयात रोकिएको हो । केहीदिन नाकामा तरकारी बोकेका ट्रक रोकिएपछि भारतीय दुतावासले नेपाल सरकारलाई चेतावनीयुक्त पत्र पठाएको थियो । दूतावासको पत्रपछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले ६ महिनाका लागि विषादी परीक्षण नगर्ने निर्णय गरेको थियो । एकै पटक ठुलो परिमाणमा नाकामा ल्याइएका तरकारी नष्ट गर्नुपरेपछि व्यापारीहरु ऋायात गर्नबाटपछि हटेका छन् । गतवर्षको जेठ र असारमा काँकडभिट्टानाकाबाट १० करोड ९२ लाख ८४ हजार ७ सय ६९ मूल्य बराबरको ५४ लाख भने तरकारी आयात ठप्प प्रायः छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “दुई दर्जन एनसेल टावरमा आगजनी” शीर्षकको समाचार छापिएको छ । मुलुकका विभिन्न जिल्लामा रहेको झण्डै दुई दर्जन टेलिफोन सेवा प्रदायक कम्पनी (एनसेल) र नेपाल टेलिकमको टावरमा नेत्रविक्रम चन्द विप्लब समूहले आगजनी गरी क्षति र्पुयाएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार २२ वटा एनसेल टावर र एउटा नेपाल टेलिकमको टावरमा यसरी आगजनी भएको हो । बुधबार साँझदेखि आज दिउसोसम्मको विवरणअनुसार धेरै स्थानमा जुटको बोरामा आगो सल्काएर आगजनी गरेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले विप्लब समूहले नै आगजनी र तोडफोड गराएको जानकारी दिँदै अर्घाखाँचीको घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको बताए । प्रहरीले दिएको जानकारीअनुसार भोजपुर, कपिलवस्तु, कैलाली, झापा, डडेलधुरा, डोटी, धादिङ, पूर्वी नवलपरासी, पर्वत, पाँचथर, बाँके, बाग्लुङ, मोरङ, म्याग्दी, रुपन्देही, ललितपुर, सिन्धुपाल्चोक, अछाम, सल्यान र मकवानपुर जिल्लाका विभिन्न स्थानमा रहेको एनसेलको २२ वटा टावरमा आक्रमण भएको हो । बुधबार विप्लब समूहले मुलुकका विभिन्न २१ जिल्ला बन्दको आह्वान गरेको थियो ।