झापा: दुर्घटनाको पीडा सहन एकदमै गाह्रो हुन्छ । दुर्घटनामा आफन्त गुमाउनुको पीडा र दुर्घटनामा परि अंगभंग भएर बस्नुपर्दाको पीडा कल्पना गर्दापनि आङ नै सिरिङ्ग हुन्छ जो कसैको पनि ।

नेपालमा हुने दुर्घटना मध्ये अधिकांश दुर्घटना चालकको लापरबाहीले हुने गरेको प्रहरी बताउँछ । तर प्रहरीले यस्तो दावी गरिरहँदा आफैले चलाएका सवारी दुर्घटनामा परि पीडादायी जीवन बिताईरहेका तत्कालिन चालकहरुको अवस्था भने नाजुक बन्दै गईरहेको पाईएको छ । तिनै मध्येका केही प्रतिनिधीमुलक चालकहरुको कथा, व्यथा यहाँ समेट्दैछौं ।

१४ बर्षदेखी संघर्षपूर्ण जीवन: सुरेशकुमार मण्डल

झापा बिर्तामोड घर भएका सुरेशकुमार मण्डल १४ बर्षदेखी ह्विलचेयरको सहारामा बाँचिरहेका छन् । कपुरीन्युजसँगको कुराकानीमा उनले भक्कानिदै भने,’यो जस्तो कष्टपूर्ण जीवन कसैले पनि भोग्नु नपरोस् । तर धेरै मानिसहरुको कष्टपूर्ण देखेर पनि चित्त बुझाउँछु ।’

Driver-Suresh-Kumar-Mandal

१४ बर्षअघिको घटना स्मरण गर्दै उनी गँहभरी आँशु पार्छन । १४ बर्षअघि यात्रु लिएर उनी झापाबाट काठमाण्डौ जाँदै गर्दा सवारी दुर्घटनामा परे । त्यो बेलादेखी अहिलेसम्म उनको कम्मर मुनीको भागनै चल्दैन । उपचारका लागि उनले धेरै अस्पताल धाए । तर केही सिप लागेन ।

उनलाई जे गर्न पनि अर्कैको सहारा चाहिन्छ । बिहान उठेपछि उनका बुवाले उनलाई दिसापिसाब गराउने तथा हात मुख धोईदिने गरिदिन्छन् । अनि केही खाएर घर अगाडीको नरिवलको रुखमुनी ह्विलचेयरमा बसेर टोलाईरहन्छन् ।

४ बर्षदेखी ओछ्यानमै: धनबहादुर धिमाल

Dhan-Bdr-Dhimal-with-his-wi

झापा मेचीनगर नगरपालिका ८ ईंटाभट्टा घर भएका धनबहादुर धिमाल २०७२ साल जेठ १५ गते सवारी दुर्घटनामा परे । आफैले चलाएको बस सप्तरीमा राती रुखमा ठोक्कियो । उनी निदाएका कारण बस रुखमा ठोक्किन पुगेछ । दुर्घटनामा परेदेखी अहिलेसम्म उनी ओछ्यानमै थला परेका छन् ।

उनीपनि आँखाभरी आँशु पार्दै भन्छन्,’चालकको सानो गल्तीले धेरै जना अंगभंग हुने हुँदा सचेत भएर गाडी चलाउनु राम्रो । म त यस्तो भइगए । अरुले यस्तो पीडा कहिले पनि भोग्नु नपरोस् ।’

देब्रे खुट्टा गुमाए: प्रदिप कार्की

यस्तै पीडादायी जीवन बिताइरहेका अर्का एक हुन् झापाकै बिर्तामोडका पूर्व बस चालक प्रदिप कार्की । प्रदिपको पनि आफैले चलाएको बस दुर्घटनामा पर्यो ।

Pradip-Karki-1

दुर्घटनापछि प्रदिपको त देब्रे खुट्टानै काट्नुपर्ने अवस्था आयो । अहिले उनको दैनीकी बैशाखीको भरमा चलिरहेको छ । बाटोमा अरु चालकले बस कुदाएको देख्दा उनी भक्कानिन्छन् अनि सोच्छन्, कुनै दिन म पनि यसैगरि गाडी कुदाउँथे ।

सहयोगका लागि कानुन अभाव छ: प्रहरी अधिकारी

माथिका केही चालकहरु त यो देशका केही प्रतिनिधीमुलक पूर्व चालकहरु मात्र हुन् । उनीहरुजस्ता अरु थुप्रै पूर्व चालकले भोग्नुपरेको पीडा करिब मिल्दोजुल्दोनै छ । त्यस्ता दुर्घटनामा परेका चालकहरुको आयस्रोत नै बन्द भएपछि आफन्त र छिमेकीहरुले सहयोग गर्ने गरेका छन् । सवारी साधनका धनीले जति दिए अनि तेस्रो पक्ष बीमाबाट जति पाए, त्यतिले उनीहरुले चित्त बुझाउनु पर्ने बाध्यता छ ।

accidents68

यसरी दुर्घटनामा परेर अंगभंग भएका तथा ओछ्यान नै लागेकाहरुका लागि वीमाको रकम तथा यातायातका संघ संगठनहरुले गर्ने सहयोग एकमात्र उपाय भएको प्रहरी अधिकारीहरुको भनाइ छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयय झापाका प्रमुख होम अधिकारीका अनुसार तेस्रो पक्ष विमाबाट जति पाउँछ, पायो । यातायातका संघ संगठनहरुले त्यस्ता घाइते गाडीका कर्मचारीलाई उपचार गरिदिने गरेका छन् । तर सरकारले सहयोग गर्ने भन्ने विषयमा कानुनमा केही उल्लेख छैन ।

सवारी दुर्घटनामा परि ओछ्यान लागेका व्यक्तिहरुको संख्या बढ्दै गएकाले उनीहरुको आवश्यक्तालाई सम्बोधन गर्न स्वास्थ्य मन्त्रालय, यातायात व्यवस्था विभाग तथा प्रहरी सम्मिलित संयन्त्र निर्माण आवश्यक भएको प्रहरी अधिकारीहरु बताउँछन् ।