धरान: १३ औं दक्षिण एसियाली खेलकुद(साग)को तयारी गर्न बास्केटवलको राष्ट्रिय टिमको धरान आइपुगेको छ ।

अबको करिब एक महिनासम्म बास्केटवलको महिला र पुरुष दुवै टोली धरानमा बन्द प्रशिक्षणमा रहनेछ । धरान १६ स्थित मिनि कभर्ड हलमा नवनिर्मित इन्डोर बास्केटवल कोर्टमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षण शुरु भएको छ । शुक्रबार एक कार्यक्रमबीच धरान उपमहानगरपालिका र नगर खेलकुद विकास समितिले राष्ट्रिय टोलीका खेलाडीहरुलाई स्वागतसँगै बन्द प्रशिक्षण कार्यक्रमको उद्घाटन गरिएको थियो ।
बन्द प्रशिक्षणमा सहभागी खेलाडीहरुलाई कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदी, नगर खेलकुद विकास समितिका अध्यक्ष सुवास राईलगायतले खेलाडीहरुलाई खदा लगाएर स्वागत गरेका थिए भने मुख्य प्रशिक्षक दिनेश चन्द्र नकर्मीलाई वल हस्तान्तरण गरेर प्रशिक्षणको औपचारिक उद्घाटन गरिएको थियो । सागको तयारीको लागि राखेपले बास्केटवलको बन्द प्रशिक्षण धरानमा गर्ने निर्णय अनुसार राष्ट्रिय टिम धरान आएको हो ।

IMG_0194

बास्केटवलको राष्ट्रिय टोलीको बन्द प्रशिक्षण धरानमा गराउनकै लागि नगर खेलकुद विकास समितिले २० लाख रुपैया थपेर सुविधा सम्पन्न इन्डोर कोर्ट निर्माण गरेको थियो । साग तयारीको लागि राजधानीमा पुर्वाधार अभाव भएको र पुर्वाधारसँगै सहयोग पनि हुने आश्वासन भएकोले राष्ट्रिय टिमको बन्द प्रशिक्षण धरान आएको प्रमुख प्रशिक्षक दिनेशचन्द्र नकर्मीले बताए ।

६४ जना खेलाडी धरानमा

pic-5

मुख्य प्रशिक्षक नकर्मीका अनुसार बास्केटवलको महिला र पुरुषतर्फको दुवै राष्ट्रिय टिम धरानमा बन्द प्रशिक्षणमा आएको छ । प्रशिक्षणमा महिला र पुरुषतर्फ ३२–३२ खेलाडी छन् । ती मधये २४ जना ५ अन ५ र ८ जना ३ अन ३ विधाका खेलाडी छन् । ‘एक महिनासम्मको प्रशिक्षणको लागि धरान आएका छौं, नयाँ पुर्वाधार रहेछ, केही सुधार गर्दा हुने अवस्था छ,’उनले भने ।

प्रशिक्षणमा मुख्य प्रशिक्षक नकर्मीसँगै ६ जना प्रशिक्षकहरु छन् । अन्य प्रशिक्षकका विकास चाम्लिङ राई, विकु महर्जन, निरन्जन सत्याल र विकास शाही छन् । बिहान र बेलुकी २ समयमा प्रशिक्षण हुनेछ । पहिलो चरणको बन्द प्रशिक्षणपछि ३ अन ३ मा ६ जना र ५ अन ५ मा १६ जना खेलाडी छनौट हुनेछ । १३ औं साग आगामी डिसेम्बर १ तारिखदेखि १० सम्म नेपालमा हुदैछ । उनीहरुलाई पनि थप प्रशिक्षणमा राखिनेछ ।

IMG_0197

कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले धरानमा पर्याप्त पुर्वाधार भएकोले बास्केटवलको बन्द प्रशिक्षण गराउन आग्रह गरेअनुसार नै राखेपले निर्णय गरेकोमा खुशी व्यक्त गरिन् । ‘राखेपप्रति आभार व्यक्त गर्छु, र थप के आवश्यकता पर्छ, त्यसको पनि व्यवस्था गछौं,’उनले भनिन् । जिल्ला बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले राष्ट्रिय टिमको बन्द प्रशिक्षण धरानमा हुदा स्थानीय खेलाडीहरु पनि लाभान्वित हुने बताए । ‘धरानले ऐतिहासिक अवसर पाएको छ, यहाँका खेलाडीहरु पनि थप लाभान्वित हुन्छन्,’उनले भने ।

IMG_0202