धरान: धरान उपमहानगरपालिकासहित विभिन्न स्थानमा रिक्त रहेको स्थानीय तह, प्रदेश र संघीय संसदको जनप्रतिनिधिहरुको पदपूर्ति गर्न निर्वाचन आयोगले आगामी मंसिर १४ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

राजनीतिक दलहरुसँग परामर्श लिएपछि आयोगको शुक्रबार बसेको बैठकले उपनिर्वाचन मंसिर १४ मा गर्ने निर्णय गरेको हो । यसअघि बिहिबार आयोगले राजनीतिक दलहरुसँग उपनिर्वाचन बारे छलफल तथा परामर्श लिएको थियो । दलहरुले मंसिर दोस्रो साता निर्वाचन गर्न सुझाव दिएलगत्तै आयोगले यस्तो निर्णय लिएको हो । आयोगका अनुसार रिक्त रहेको उपमहानगरपालिकाका प्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगर र गाउँपालिकाका वडाअध्यक्ष र प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन एकै दिन मंसिर १४ गते शनिबार गर्ने निर्णय भएको हो ।

मिति तोकिएसँगै आयोगले उपनिर्वाचनको तयारीलाई तीब्रता दिएको आयोगका प्रवक्ता एवं सहसचिव शंकरप्रसाद खरेलले एक विज्ञप्तीमार्फत जानकारी दिएका छन् । आयोगका अनुसार विभिन्न ३७ जिल्लामा ५० पदको लागि उपनिर्वाचन गर्नुपर्नेछ । एउटा उपमहानगरापालिकाको प्रमुखको पदको उपनिर्वाचन हुनेछ । जुन धरान उपमहानगरपालिकाको हो । यस्तै, ३ स्थानको गाउँपालिका अध्यक्ष, एक स्थानको गाउँपालिका उपाध्यक्षको उपनिर्वाचन हुनेछ भने ४१ जना वडाअध्यक्ष, प्रदेशसभा सदस्य ३ र प्रतिनिधि सभा सदस्यको १ स्थानमा उपनिर्वाचन हुने आयोगले जनाएको छ ।

election2

धरानका दलहरु उत्साहित

२०७५ साउन १ गते धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको थियो । उनको निधनपछि धरान कार्यवाहक मेयरको भरमा चलिरहेको छ । उमेर कम भएर मात्र होइन, अनुभवको कमीले पनि कार्यवाहक मेयरबाट उपमहानगरपालिकाले गति नलिएको भन्दै आफ्नै पार्टीबाट पनि आलोचना भइरहेको छ । एउटै पार्टीबाट निवार्चित वडाअध्यक्षले सार्वजनिक कार्यक्रममा नै कार्यवाहक मेयरसँग काम गर्न नसकिने भन्दै उपनिर्वाचनको मागसमेत गरेका थिए । धरानमा वडा नं ७ का अध्यक्ष भुवन भोक्तानको पनि निधन भएकोले अध्यक्ष पद रिक्त छ ।

आयोगले एक बर्षपछि उपनिर्वाचनको मिति नै तोकेर तयारी थालेको छ । यसले यहाँका राजनीतिक दलहरु उत्साहित छन् । दलहरु चुनावको आन्तरिक तयारीमा जुटिसकेका छन् । नेकपाका धरानअध्यक्ष नारायण सुवेदीले निर्वाचन आयोगको निर्णय स्वागत योग्य भएको प्रतिक्रिया दिदै आफ्नो दल सधैं जनता माझमा भएको र निर्वाचनको तयारीमा नै भएको बताए । ‘उपमहानगर नेतृत्वविहिन हुदा र उपमेयरलाई बढी जिम्मेवारी थपिदा सेवा प्रभावित भएको थियो, त्यसैले उपनिर्वाचन आवश्यक थियो,’उनले भने,‘यो स्वागतयोग्य निर्णय हो, हामी त जहिल्यै चुनावको लागि तयार नै छौं ।’

elections

नेतृत्व(मेयर) नहुदा धरानको वृत्तिविकास, सामाजिक र आर्थिक प्रगतिमा बाधा पुगेको दाबी गर्दै लामो समयदेखि उपनिर्वाचनको माग गर्दै आएको थियो । कांग्रेस नगर सभापति तिलक राई निर्वाचन आयोगको तयारी स्वागत योग्य भएको प्रतिक्रिया दिदै उपमहानगरपालिका नेतृत्व(मेयर)विहिन हुदा दिशाविहिन भएको बताउँछन् । ‘हामीले त मेयर बितेको ३ महिना पछि नै उपनिर्वाचनको माग गरिरहेका थियौं, आयोगले अहिले निर्णय गरेको छ, यो स्वागतयोग्य छ,’कांग्रेस नगर सभापति तिलक राईले भने,‘धरानको महत्वपुर्ण योजनाहरु ठप्प छन्, कति अलपत्र छ, धरानको विकास नै रोकियो ।’ समाजवादी पार्टीका नगर अध्यक्ष ताजुब लिम्बू पनि नेतृत्वको अभाव खट्किएको बताउँछन् । ‘बहुआयामिक नेतृत्व चाहिन्छ, निर्वाचन आयोगले चुनाव गर्ने निर्णय स्वागतयोग्य कुरा हो,’उनले भने ।

अनुभवी नेतृत्व आवश्यक

एक बर्ष कार्यवाहक मेयरको नेतृत्वमा उपमहानगरपालिका चल्दा आयोजनाहरु तथा विकासका कामहरुले जति गति लिनुपर्ने थियो, त्यो हुन सकेन । यसमा कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीको अनुभवको कमी भएको टिप्पणी हुने गरेको छ । युवा उमेर(३६)मा नै उपमेयरमा विजयी भएकी उनले अनुभवको कमीले मात्र होइन, आफ्नै पार्टीबाट निवार्चित अध्यक्षहरुसँग पनि राम्रो सहकार्य, समन्वय गर्न नसकेको भन्दै आलोचित हुनुपर्यो ।

तत्कालिन एमालेबाट निवार्चित वडा १५ का अध्यक्ष नरेश इवारम अनुभव कमीले गर्दा असहजता भएको बताउँछन् । ‘कार्यवाहकसँग अनुभवको कमी थियो, जनप्रतिनिधिकोरुपमा सिक्ने क्रममा नै कार्यवाहक मेयरको जिम्मेवारी आइलाग्यो, त्यसैले नुन नलागेको तरकारी जस्तो महसुस भयो,’उनले भने,‘कामहरु हुदै भएन भन्ने चै होइन । तर, अब आगामी नेतृत्व दक्ष, अनुभवी, संसदीय मोर्चाको राम्रो अनुभवन र ज्ञान भएको नेतृत्व चाहिन्छ ।’

कांग्रसले नमुना मतदान गर्ने

tilak-rai

धरानमा उपनिर्वाचनको माग गर्दै आइरहेको नेपाली कांग्रेस उपमहानगर कमिटिले २० वटै वडामा नमुना मतदान गर्ने भएको छ । कांग्रेसले जनतामाझमा सचेतना जगाउने उद्देश्यले नमुना मतदानको अभियान चलाउन लागेको हो ।

कांग्रेस सभापति राईका अनुसार यथास्थिति रोज्ने कि परिवर्तन रोज्ने ? भनेर यो नमुना मतदान सञ्चालन हुनेछ । लामो समय एउटै दलले निरन्तर धरानमा जिते पनि धरान कुन अवस्थामा छ भनेर जनतालाई बुझाउदै परिवर्तन कि यथास्थिति रोज्ने ? भनेर मतदान गरिने सभापति राईले बताए । ‘धरानको हकमा हामी परिवर्तनको पक्षधर हौं, यहाँको सत्तापक्ष यथास्थितिवादी हो, जहिले चुनाव जिते पनि धरानको लागि केही गर्न सकेको छैन,’उनले भने,‘त्यसैले अब परिवर्तन रोज्ने हो कि धरानले जनताले अहिले जे, जस्तो अवस्था छ, त्यही रोज्ने ? यसैबारे नमुना मतदान गर्नेछौं ।’