धरान: १३ औं दक्षिण एसियाली खेलकुद(साग)को बन्द प्रशिक्षणमा रहेको बास्केटवलको राष्ट्रिय टोलीलाई धरान उपमहानगरपालिकाले खेल सामग्री सहयोग गरेको छ ।

धरान ८ स्थित गोर्खा किचनमा शुक्रबार साँझ एक कार्यक्रम आयोजना गरी सहयोग प्रदान गरेको हो । उपमहानगरअन्र्तगतको नगर खेलकुद विकास समितिका अनुसार खेलाडीहरुलाई ६० थान विप्स, ३० थान कोण र ३० थान म्याट प्रदान गरिएको हो । यस्तै, ५ जना प्रशिक्षकहरुलाई ट्रयाक पनि प्रदान गरिएको खेलकुद समितिले जनाएको छ । खेल सामग्री धरानकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदी र खेलकुद समितिका अध्यक्ष सुवास राईले प्रमुख प्रशिक्षक दिनेशचन्द्र नकर्मीलाई हस्तान्तरण गरेका थिए ।

बन्द प्रशिक्षणमा धरान आएको राष्ट्रिय टोली तथा प्रशिक्षकहरुको स्वागतमा उपमहानगरपालिकाले डिनर पनि आयोजना गरेको थियो । खेल सामग्री हस्तान्तरण कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै कार्यवाहक प्रमुख भण्डारीले राष्ट्रिय टोली धरानमा बन्द प्रशिक्षणमा आउनु गौरव भएको बताउदै सहयोगमा कुनै कसर बाँकी नराख्ने बताइन् ।

IMG_8957

आगामी सागको तयारी गर्न बास्केटवलको महिला तथा पुरुष टोली एक महिनाको लागि धरानमा बन्द प्रशिक्षणमा आएको छ । धरान १६ स्थित सेमी कभर्ड हलमा शुक्रबारदेखि बन्द प्रशिक्षण पनि शुरु भइसकेको छ । कार्यवाहक मेयर भण्डारीले कभर्ड हलमा थप लाइटको व्यवस्थापन गर्न र सरसफाई गर्न निर्देशन पनि दिइसकेकी छिन् । बन्द प्रशिक्षणको लागि महिला र पुरुषतर्फ ३२/३२ जना खेलाडीहरु छन् भने ५ जना प्रशिक्षक पनि छन् । खेलाडीहरुमा २४ जना फाइभ अन फाइभ र ८ जना थ्री अन थ्री विधाका खेलाडी छन् ।