धरान: १३ औं दक्षिण एसियाली खेलकुद(साग)को तयारी स्वरुप शुक्रबारदेखि बास्केटवलको राष्ट्रिय टोलीको बन्द प्रशिक्षण शुरु भएको छ ।

धरान १६ स्थित सेमी कभर्ड हलमा निर्माण गरिएको इन्डोर बास्केटवल कोर्टमा राष्ट्रिय टिमको बन्द प्रशिक्षण भइरहेको हो । खेलकुदको पुर्वाधार र गतिविधिहरु राजधानी केन्द्रीत भइरहदा राष्ट्रिय टोलीको बन्द प्रशिक्षण धरानमा हुनु खुशीको कुरा हो । यसले पुर्वाधार राजधानीमा मात्र होइन, मोफसल र धरानमा पनि छ भन्ने सन्देश गएको छ । तर, धरानले यतिमा मात्र लाभ पाएको भने होइन ।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा धरानका एक बास्केटवल प्रशिक्षक र ३ जना खेलाडीले पनि अवसर पाएका छन् । राष्ट्रिय टोलीको प्रशिक्षण गर्न पाउनु र खेलाडीहरु बन्द प्रशिक्षणको लागि छनौट हुनु खेल जीवनमा निक्कै महत्व राख्छ । प्रदेश नं १ मा बास्केटवल खेलमा राखेपका आधिकारिक एक मात्र प्रशिक्षक विकास चाम्लिङ राईले पनि यो बन्द प्रशिक्षणमा राष्ट्रिय टोलीलाई प्रशिक्षण गर्ने अवसर पाएका छन् । प्रदेश १ मा बास्केटवल खेलको विकास तथा विस्तारमा धरान निवासी पुर्वबास्केटवल खेलाडी राईको पनि महत्वपुर्ण योगदान छ ।

bikash-chamling

यस्तै, बन्द प्रशिक्षणमा एक पुरष र २ जना महिला खेलाडीले पनि अवसर पाएका छन् । पुरुषतर्फ धरानका खेलाडी नविन राई पनि बन्द प्रशिक्षणमा छन् । नविन प्रदेश नं १ को बास्केटवलको टिम क्याप्टेन हुन् । यस्तै, महिला टिममा धरानकी डा.आशा राई र लियालिसा श्रेष्ठ पनि बन्द प्रशिक्षणमा छिन् । डा. राई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिडिएस अध्ययन सकेर हाल इन्टर्नसिप गरिरहेकी छिन् । ‘प्रदेशकै लागि अवसर हो । मेहनत गर्यौं भने अवसर पाइन्छ भन्ने पनि हो,’उनले भनिन्,‘प्रतिभा छ भने पक्कै पनि अवसर पाइन्छ ।’ नविन बास्केटवलका प्रतिभाशाली खेलाडी हुन् भने लियालिसा उदयीमान खेलाडी हुन् । यस्तै, डा. आशा चिकित्सा अध्ययनसँगै खेलमा पनि सक्रिय छिन् ।