धरान: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका निलम्बित उपकुलपति प्रा.डा.राजकुमार रौनियार र उनका भतिज डा.रामहरि रौनियारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बिशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।

अख्तियारले प्रतिष्ठानको होष्टेल र फार्मेसी भवन निर्माणको ठेकेदार कम्पनीसँग पटक पटक घुस एवं कमिशन लिएको दाबी गर्दै आरोप पत्र दायर गरेको हो । रौनियारले पटक पटक गरी १ करोड २८ लाख घुस तथा कमिशन लिएको पुष्टि भएको दाबी गर्दै सोही बराबर रकम बिगो कायम गरी अदालतमा मुद्दा दायर गरेको जनाएको छ । अख्तियारका अनुसार ठेकेदार कम्पनी श्याम सुन्दर निर्माण सेवा प्रालिको सब कन्ट्रयाक्टर गिना कन्स्ट्रक्सन कम्पनी प्रालिसँग पटक पटक रौनियारले कमिशन वापत घुस लिएका थिए । गिना कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक सुशिल कुमार झासँग भवन निर्माणको मोबिलाइजेसन रकमको भुक्तानी दिँदा र बिभिन्न मितिमा रनिङ बिलको भुक्तानी दिँदा उपकुलपति रौनियारले कमिशनवापत घुस लिएको अनुसन्धानबाट पुष्टि भएको अख्तियारले जनाएको छ ।

यस्तै, डा.रौनियारका भतिज रामहरिलाई पनि मतियारकोरुपमा भुमिका निर्वाह गरेको भन्दै अख्तियारले ८ लाख बिगो कायम गरी सोही अनुसार कैद तथा जरिवाना माग गर्दै मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् । गत असार २६ गते उपकुलपति रौनियार र उनका भतिज रामहरिलाई अख्तियारको टोलीले ८ लाख रुपैया घुस लिएको रकमसहित रंगे हात पक्राउ गरेको थियो । त्यसयता दुवै अख्तियारको हिरासतमा छन् ।

उपकुलपति रौनियारले पटक पटक कमिसन बापत ठेकेदार झासँग घुस रिसवत लिएको भनेर अडियो भिडियो सहितको उजुरी आयोगमा परेको थियो । असार १६ गते परेको उजुरी माथि अनुसन्धान गरिरहेको आयोगले फार्मेसी भवन निर्माणको चौथो रनिङ बिल भुक्तानीका लागि झासँग ८ लाख कमिशन मागेको प्रमाण असार २५ गते आयोगमा पेश गरेका थिए । थप प्रमाणसहित उजुरी आयोगमा पुगेपछि धरान पुगेको अख्तियार टोलीले असार २६ गते झासँग लिएको ८ लाख कमशिनवापतको घुससहित उपकुलपति र उनका भतिजलाई पक्राउ गरेको थियो ।