झापा: सवारी चालक अनुमति पत्रका लागि दिइने परीक्षामा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल अनुत्तीर्ण भएका छन् ।

यातायात व्यवस्था कार्यालय १ नम्वर प्रदेश मेचीबाट बी वर्ग (कार,जीप, डेलिभरी भेन)को सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनका लागि प्रजिअ दाहाल परीक्षामा सहभागी भएका थिए । तर उनी अनुत्तीर्ण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले जानकारी दिएका छन् । प्रमुख जिल्ला अधिकारी दाहालले ट्रायलमा अनुत्तीर्ण भए पनि १५ दिनपछि पुनः ट्रायल परीक्षामा सहभागी हुने बताएका छन् ।

पछिल्लो समय सवारी चालक अनुमति पत्रको परीक्षामा अनियमितता हुने गरेको र सेटिङमा लाइसेन्स वितरण गर्ने गरेको गुनासो आइरहने भएकोले प्रजिअ दाहालले सुटुक्क लाइसेन्सका लागि फारम भरेर परीक्षा दिन आएको बताए । प्रजिअ दाहालले भने,‘परीक्षा परीक्षा जस्तै हुनु पर्छ, झापामा ट्रायल दिँदा कुनै समस्या नआओस् भनेर म यहाँ आएको हुँ ।'