औजार : आजको औजार दैनिकमा “भारतीयलाई धार्मीक तथा पर्यटकीय क्षेत्रको भ्रमण” शीर्षकको समाचार छापिएको छ । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेसँगै ठाउँठाउँमा पर्यटक भित्र्याउने क्रम सुरु भएको बेला सुनसरीमा पनि भारतीय पर्यटक भित्र्याउने क्रम सुरु भएको छ । यसैक्रममा सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका र नेपाल भारत मैत्री संघ सुनसरी शाखाले आईतबार भारतीय अधिकारी तथा पर्यटकीय क्षेत्रहरुको अवलोकण भ्रमण गराएको छ । नेपाल भ्रमण वर्ष २०२० मनाउने घोषणा गरिए अनुसार इनरुवा नगरपालिका स्थानीय सरकारले आर्थिक वर्ष २०७६।७७ को नीति तथा कार्यक्रममा आन्तरिक र भारतीय पर्यटक भित्र्याउने लक्ष्य राखेकोमा त्यसमा सार्थकताका लागि रामधुनी मन्दिर सहितको ठाउँमा भारतीय अधिकारी तथा पर्यटकहरुलाई भ्रमण गराएको हो ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “मेयर चौधरीले “जागिर दिन्छु” भनेका अपाङ्ग युवा अझै बेरोजगार” शीर्षकको समाचार छापिएको छ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले घरैमा पुगर जागिर दिन्छु भनेका अपांग युवा रोजगारीको खोजीमा भौतारिरहेका छन् । इटहरी २ का मानबहादुर भुजेल अहिलेसम्म जागिरकै खोजीमा छन् । गत कात्तिकमा इटहरी उपमहानगरपालिकाका मेयर चौधरीले उनको घरमा पुगेर उपमहानगरपालिकामै जागिर दिने प्रतिवद्धता जनाएका थिए । मेयर चौधरी अनुगमनको क्रममा उनको गाउँमा पुगेका थिए । सोही क्रममा उनको घरमा पुगेका मेयर चौधरीले जागिर लगाईदिने वचन दिएको भुजेल बताउछन् ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “निमित्तको भरमा यातायात र लाइसेन्स कार्यालय” शीर्षकको समाचार छापिएको छ । प्रदेश १ कै सबैभन्दा धेरै भीडभाड हुने कार्यालय प्रमुखविहीन छ । सेवाग्राहीको अत्याधिक चाप रहने कोशी अञ्चल यातायात कार्यालय (सवारी) र लाइसेन्स कार्यालयमा निमित्तको भरमा कार्यसम्पादन हुदै आएको छ । प्रदेश १ कै प्रमुख कार्यालयको रुपमा रहेको यातायात कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । यातायात कार्यालयमा पुग्ने अधिकांश सर्वसाधारणले दुःख पाउने गरेका छन् । यातायात कार्यालय कोशी मा प्रमुख नहुँदा बिचौलियाहरुको मनपरीतन्त्र चलिरहेको इटहरी १९ का सेवाग्राही सञ्जिव लिम्बुले बताए । सामान्य कामको लागि पनि कर्मचारीलाई पैसा खुवाउनुपर्ने बाध्यता भएको उनको गुनासो थियो । यातायातका दुवै कार्यालयमा सेवाग्राहीको भीड हुने गरेको भए पनि कार्यालय प्रमुख नहुँदा समस्या दैनिक बढ्दो रहेको सेवाग्राहीले बताएका छन् ।

उद्घोष : आजको उद्घोष दैनिकमा “सांसदको आरोपः जिसस अध्यक्षद्वारा त्रिपाल र तारजाली दुरुपयोग” शीर्षकको समाचार छापिएको छ । प्रदेश सांसद तथा प्रदेशसभाको अर्थसमितिका सभापति मोहनकुमार खड्काले आफ्नो गृहजिल्ला ओखलढुंगाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र तत्कालिन समन्वय अधिकारीले ठूलो परिणाममा राहत सामग्री दुरुपयोग गरेको आरोप लगाएका छन् । आइतबार प्रदेशसभा वैठकको शुन्य समयमा बोल्दै सांसद खड्काले समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठ, उपप्रमुख दिलकुमारी खतिवडा र तत्कालिन समन्वय अधिकारी नारायण मैनालीको मिलेमत्तोमा करोडौं मूल्यका सामग्री दुरुपयोग गरेको दावी गरेका छन् ।