काठमाण्डौ : मनसुनी न्यूनचापीय रेखा (मनसुनी समयमा वर्षा गराउने प्रणाली) नेपालतर्फ सरेकाले अब केही दिन मनसुन सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अबको तीनदिनसम्म देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुनी न्युनचापीय रेखा औसतको ठाउँभन्दा केही उत्तरतर्फ (नेपालतर्फ) सरेकाले अबको तीन दिन पानी पर्ने सम्भावना भएको मौसमविद् मञ्जु बासीले जानकारी दिईन् ।

सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने र धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद बासीले जानकारी दिनुभयो । साथै पूर्व र पश्चिमका केही भूभागमा भारी वर्षाको सम्भावना रहेको पनि उनले बताए ।

सोमबार राति पनि देशभर सामान्य बदली रहने र देशको पश्चिमी, मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, मंगलबार र बुधबार पनि देशका धेरैजसो ठाउँमा बदली हुने र केही ठाउँमा भारी वर्षा हुने महाशाको पूर्वानुमान रहेको छ । देशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।