धरान: घुससहित पक्राउ परेका विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.राजकुमार रौनियारलाई आज बिशेष अदालतमा वयान लिइने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो आइतबार बिशेष अदालतमा मुद्दा दायर गरेपनि समय अभावको कारण वयान र छुनथेक बहस हुन पाएको थिए । बिशेष अदालतका अनुसार आज यो मुद्दाको प्रतिवादीद्धयको वयान लिनुका साथै थुनछेक वहस पनि हुनेछ । आइतबार वयान लिन नपाएपछि उपकुलपति डा.रौनियार र उनका भतिज डा.रामहरि रौनियार दुवैलाई अदालतले थुनामा नै पठाएको थियो ।

बिशेष अदालतका उपरजिष्ट्रार एवं प्रवक्ता पुष्पराज पाण्डेयका अनुसार समय अभावको कारण आइतबार उपकुलपति रौनियारको वयान लिएर थुनछेक बहस गर्न नपाएको कारण पुनः थुनामा नै पठाइएको हो । ‘समय अभाव भयो, त्यसैले मुद्दा दर्ता भएपनि वयान लिने र थुनछेक वहस गर्ने समय भएन,’प्रवक्ता पाण्डेयले भने,‘सोमबार वयान लिने र थुनछेक बहस हुन्छ ।’

आज बिशेष अदालतबाट रौनियारको बिषयमा प्रारम्भिक आदेश आउने बताइएको छ । स्रोतका अनुसार रौनियार धरौटीमा छुट्न सक्नेछन् । अख्तियारले उपकुलपति डा.रौनियारलाई १ करोड २८ लाख बिगो मागदाबी गरेको छ भने उनका भतिज डा.रामहरिलाई मतियारकोरुपमा रहेको भन्दै ८ लाख विगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ । अख्तियारले प्रतिष्ठानको होष्टेल र फार्मेसी भवन निर्माणको ठेकेदार कम्पनीसँग पटक पटक घुस एवं कमिशन लिएको दाबी गर्दै आरोप पत्र दायर गरेको हो । अख्तियारले गत असार २६ गते प्रतिष्ठानका उपकुलपति डा.रौनियार र उनका भतिज डा.रामहरिलाई कमिशन वापतको ८ लाख घुससहित रंगेहात पक्राउ गरेको थियो । त्यसयता दुवै अख्तियारको हिरासतमा छन् ।