धरान: २५ औ विश्व आदिवासी दिवसको अवसरमा सोमबार धरानमा रक्तदान कार्यक्रम आयोजना भएको छ ।

राष्ट्रिय आदिवासी जनजाति नगर महासंघ धरानको आयोजनामा भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको कुरा महासंघकी अध्यक्ष चन्द्रकला प्रधानले जानकारी दिइन् । विगत तीन वर्षदेखि विश्व आदिवासी दिवसको अवसर पारेर रक्तदान कार्यक्रम हुदै आएको छ । आदिवासी जनजाति विकास समिति धरानका संयोजक नरेश इवारमको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको थियो ।

कार्यक्रममा विशेष अतिथिकोरुपमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद सुनसरीका अध्यक्ष संगीता सुब्बा, पुर्व अध्यक्ष कल्पना शेर्पा, रमला तामाङ, आदिवासी सरोकार समाजका अध्यक्ष सुजेन्द्र तामाङ, आदिवासी जनजाति नगर महासंघ सचिव हेमराज जिमि, सल्लाहकार तेन्जिङ शेर्पालगायत उपस्थिति रहेको थियो ।

२५ औ बिश्व आदिवासी दिवस बर्षेनी अंग्रेजी महिनाको ९ अगस्टमा मनाईने गरिन्छ । २३ डसेम्बर १९९४ को संयूक्त राष्ट्रसघंको साधारण सभाले ९ अगस्तलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेको हो । संयूक्त राष्ट्रसघंले यसअघि नै सन् १९९४ देखि २००४ सम्म ’आदिवासी दशक समेत कर्म र मर्यादाका लागि दशक’ भन्ने नाराका साथ आव्हान गरेको थियो । धरानमा नेपाल आदिवासी जनजाति नगर महासंघले मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा २५ औ विश्व आदिवासी दिवस मनाउने तयारी भइरहेको जनाएको छ ।