धरान: घुससहित पक्राउ परेका विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.राजकुमार रौनियारको वयान सोमबार पनि सकिएन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार बिशेष अदालतमा १ करोड २८ लाख बिगो जरिवाना र १३ बर्षको कैद मागसहित उपकुलपति रौनियारविरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको थियो । आइतबार समय अभावले वयान लिने काम थाति राखेको बिशेष अदालतले सोमबार वयान लिन शुरु गरेपनि पुरा हुन सकेन । वयान नसकिए पनि सोमबार पनि रौनियारलाई बिशेष अदालतले पुनः थुनामा नै पठाइएको छ ।

बिशेष अदालतका उपरजिष्ट्रार एवं प्रवक्ता पुष्पराज पाण्डेयका अनुसार सोमबार पनि रौनियारको वयान आधा मात्र सकिएकोले थुनामा नै पठाइएको छ । ‘वयान लिने काम आधा मात्र सकियो, भोली मंगलबार फेरि वयान हुन्छ,’पाण्डेयले भने,‘वयान सकिए पनि थुनछेक हुन्छ । धरौटी राख्ने वा थुनामा नै राख्ने भन्ने आदेश हुन्छ ।’

अख्तियारले उपकुलपति डा.रौनियारलाई १ करोड २८ लाख बिगो मागदाबी गरेको छ भने उनका भतिज डा.रामहरिलाई मतियारकोरुपमा रहेको भन्दै ८ लाख विगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ । अख्तियारले गत असार २६ गते प्रतिष्ठानका उपकुलपति डा.रौनियार र उनका भतिज डा.रामहरिलाई कमिशन वापतको ८ लाख घुससहित रंगेहात पक्राउ गरेको थियो । त्यसयता दुवै अख्तियारको हिरासतमा छन् ।