औजार : आजको औजार दैनिकमा “झापामा हिरासतबाटै थुनुवा फरार” शीर्षकको समाचार छापिएको छ । झापामा प्रहरी हिरासतबाटै एक युवा फरार भएका छन् । झापाको अनारमनी इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका इलाम निवासी २४ वर्षीय शंकर गजमेर फरार भएका हुन् । विर्तामोडस्थित नयाँ बसपार्कमा लागूऔषधसहित आइतबार पक्राउ परेका उनलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्याइएको थियो । तर, विर्तामोडस्थित कनकाई अस्पतालको पछाडिपट्टीको झ्याल फुटाएर फरार भएका हुन् । झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले लागूऔषधसहित पक्राउ परेका गजमेर सामान्य विरामीजस्तो देखिएकोले उपचार गर्न र लागूऔषधको परीक्षण गर्न अस्पताल पुर्याइएकोमा त्यहाँबाटै भागेको जानकारी दिए । प्रहरी उपरीक्षक श्रेष्ठले उनको खोजीकार्य शुरु गरिएको बताए ।

त्यसैगरी आजकै औजार दैनिकमा “कोशी कटान पीडितद्वारा ज्ञापनपत्र” शीर्षकको अर्को समाचार पनि छापिएको छ । सुनसरी सहित तीन जिल्लाका कोशी कटान पीडितहरुले कोशी सन्धी अनुसारको मुआब्जा नपाएको भन्दै सात बुँदे माग अघि सार्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमा सोमबार ज्ञापनपत्र बुझाएको छ । कोशी नदी कटान डुबान पीडित संघर्ष समिति सप्तरी, सुनसरी र उदयपुरको तर्फबाट संयुक्त रुपमा कोशी कटान पीडितहरुले सदरमुकाम इनरुवामा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमा सात बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा सन्धी अनुसारको पीडितको बाली –फसल) को क्षतीपुर्ती मुआब्जा दिनुपर्ने, कटान पीडितको जग्गामा कोशी योजनाको कामकारबाहीलाई रोक्नुपर्ने, जग्गाको सुरक्षा हुनुपर्ने, कोशीमा पायलत च्यानको काम गर्नुपर्ने, कोशीमा पीडित र नेपालीहरुलाई जागिर दिनुपर्ने, सन्धी अनुसारको अस्पताल र विद्यालय खोल्नुपर्ने र नेपालीभूमिमा कामगर्दा अनुमती लिनुपर्ने लगायतका सात बुँदे माग उल्लेख गरेका छन् ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “चिसाङले खेत काट्यो, किसानको बिचल्ली” शीर्षकको समाचार छापिएको छ । मोरङको चिसाङ खोलामा आएको बाढीले करोडौँ मूल्यको खेतीयोग्य जमिन बगाएपछि मोरङका किसानका आँखामा आँसु छचल्किएको छ । गएको असार २४ गते चिसाङ खोलामा आएको बाढीले धान खेतीसहित खेत बगाएपछि यहाँका किसान अब भोलिका दिनमा के खाने भन्ने पिरलोमा छन् । रंगेली नगरपालिका वडा नम्बर ४, ८ र ९ मा रहेका चोप्राहा, निसान थान, झर्ना घुटु , बाबुसाहेव टोल, दौलतपुरलगायतका स्थानमा खेतीयोग्य जमिन खोलाले कटान गरेको हो । खोलाले खेत कटान गरेपछि सयौ बिगाहा खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । स्थानीय, प्रदेश र संघको निर्वाचनको बेलामा स्थानीयको माग दरिलो तटबन्ध थियो । तर त्यसको सुनुवाइ नहुँदा किसानहरु अहिले खेतीयोग्य जमिन बगाएपछि पुर्पुरामा हात राखेर बस्नुको विकल्प छैन । चुनावका बेलामा नागरिकसमक्ष गरिएको बाचा अनुसार खोलामा तटबन्ध निर्माण गरिएको भए अहिले यो समस्या आँउदैन थियो । खोलाले क्षती गरेको बारेमा अहिलेसम्म सोधीखोजी गर्न कोही नआएको किसानहरुकोको गुनासो छ । रंगेली–४ चोप्राहाका किसान सत्यदेव मण्डलको चार परिवारको पालन पोषणको एकमात्र सहारा साढे २ बिगाहा खेत खोलाले बगाएको छ । भएको खेत बक्राहा खोलाले बगाएपछि खेतको नाममा १० कठ्ठा मात्रै बाँकी बसेको उनले बताए । भएको खेत खोलामा परिणत भएपछि अब परिवार कसरी पाल्ने भन्ने पीडाले मण्डलको परिवारलाई सताएको छ ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “कार्यालयमा बस्दैनन् कर्मचारी र जनप्रतिनिधि” शीर्षकको समाचार छापिएको छ । भण्टाबारी र सुनसरीका अधिकांश स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरु कार्यालयमा नबस्ने गरेको पाइएको छ । कर्मचारीहरुले कार्यालय समयसम्म कार्यालयमा बसेर काम गर्नुपर्नेमा हाजिर गरेर जाने गरेको पाइएको हो । सोमबार दिउँसो ३ बजेको समयमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको कार्यालय पुग्दा १७ जनामध्ये ४ जना कर्मचारी मात्र भेटिए । १७ जनामध्ये १४ जनाले हाजिर गरेकोमा दिउँसो ३ बजे ४ जना कर्मचारी मात्रै उपस्थित थिए । कार्यालय समयमा सञ्चारकर्मी पुग्दा लेखापाल इन्द्र श्रेष्ठ, सुचना अधिकारी सुवास पोखरेल, प्राविधिक शाखाका एक कर्मचारी र एउटा कार्यालय सहयोगी मात्र उपस्थित थिए । उनीहरु पनि चिया गफमा मस्त थिए । आर्थिक वर्ष भर्खरै शुरु भएकाले कार्यालयमा खासै सेवाग्राही नआउने र काम पनि नभएकोले कर्मचारीहरु समयभन्दा पहिले नै हिडने गरेको उनीहरुले बताए ।

उद्घोष : आजको उद्घोष दैनिकमा “विपद् व्यवस्थापनमा प्रदेश सरकार गम्भीर” शीर्षकको समाचार छापिएको छ । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्कीले विपद्बाट हुन सक्ने जनधनको क्षतिलाई न्यूनिकरण गर्न प्रदेश सरकार गम्भीर भएर लागेको बताएका छन् । प्रदेशसभा नियमावली, २०७४ को नियम ५८ (ग) बमोजिम दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा भाग लिएका सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा सोमबार उनले असार २६ गतेदेखि परेको अविरल बर्षाले प्रदेशमा ३७ जनाले ज्यान गुमाएका, १४ बेपत्ता रहेका, २४ घाइते भई आठ हजार मानिस अस्थायी रुपमा विस्थापित भएका जानकारी दिदै प्रदेश सरकार बाढीपहिरोमा परेकालाई राहत, उद्दार र खोजमा सक्रिय रुपमा लागेको जानकारी गराए ।