बिराटनगर: उदयपुर र सुनसरीमा आज बिहान भएको एम्बुलेन्स दुर्घटनामा ११ जना घाईते भएका छन् ।

झापाबाट उपचार गरी घर फर्केका मानिसलाई लिएर गाईघाट तर्फ जाँदै गरेको मे १ च ६६१ नम्बरको एम्बुलेन्स आज बिहान साँढे ३ बजे उदयपुरको त्रियुगा नगरपालिका ६ चुरेमा आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । उक्त दुर्घटनामा एम्बुलेन्समा सवार त्रियुगा नगरपालिका ६ का सदहरुल मिया, उनकी २८ बर्षीय छोरी सहिजा मिया र सोही स्थानकी ३५ बर्षीय मोहमद हमिद, ४० बर्षकी सहिपुन खातुन घाइते भएका थिए ।

यस्तै, ७५ बर्षकी हजरा खातुन, त्रियुगा नगरपालिका १२ की ३२ बर्षीय अम्बिका बिक र उनका छोरा ११ बर्षीय अशोक बिक घाईते भएका हुन् । घाईते सबैजनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ भने चालक र एम्बुलेन्स ईलाका प्रहरी कार्यालय जलजलेको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसैगरी, उदयपुरको उदयपुरगढी गाउँपालिका १ बाट सुत्केरी ब्यथा लागेको बिरामी बोकेर बिराटनगर तर्फ आउँदै गरेको स १ झ ५२६ नम्बरको एम्बुलेन्स सुनसरीको गढी गाउँपालिका २ को थलाहा पुलमा ठोक्किएर दुर्घटनाग्रस्त भएको छ । आज बिहान ३:१० बजे सो एम्बुलेन्स दुर्घटना भएको हो । दुर्घटनामा परी एम्बुलेन्समा सवार उदयपुर गढी गाउँपालिका १ की ३२ बर्षीया सबिना बास्तोला (सुत्केरी ब्यथा लागेको बिरामी), उनको श्रीमान ३६ बर्षीय खेम बहादुर बास्तोला र सोही स्थानका ३६ बर्षीय सिताराम बास्तोला घाईते भएका थिए ।

उनीहरुको हाल बिराट टिचिङ अस्पताल गंगा चौकमा उपचार भईरहेको छ भने चालक सोही स्थानका २८ बर्षिय नीर बहादुर पुलामी मगरको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तस्बिर क्याप्सन: आइतबार सेउती पुल नजिक दुर्घटनाग्रस्त भारतीय एम्बुलेन्स ।