उत्तर कोरियाले पुनः दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । दक्षिणी हवाङ्गहाइ प्रान्तबाट समुद्रतर्फ लक्षित गरी आज दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियालीले सेनाले जनाएको छ ।

उत्तर कोरियाले पछिल्ला दुई सातायता चार वटा क्षेप्यास्त्र प्रहार गरिसकेको छ । प्रक्षेपण गरिएका मिसाइल कस्ता खालका हुने भन्ने खुलेको छैन । अमेरिकाले भने क्षेप्यास्त्रका बारेमा निरीक्षण र अनुगमन भइरहेको जनाएको छ । अमेरिकाले दक्षिण कोरिया र जापानसँग पनि यसबारे परामर्श भइरहेको जनाएको छ । अमेरिका र दक्षिण कोरियाले सोमबारदेखि सुरु गरेको संयुक्त सैन्य अभ्यासका विषयलाई लिएर उत्तर कोरिया आक्रोसित हुँदै आएको छ ।

अमेरिका र दक्षिण कोरियाबीच वार्षिक रुपमा हुँदै आएको सैन्य अभ्यास यो वर्ष भएका थिएन । तर अहिले पुनः सैन्य अभ्यास सुरु भएपछि अमेरिकी राष्ट्रपति र दक्षिण कोरियाली राष्ट्रपतिसँग भएको सम्झौताको उल्लंघन गरेको उत्तर कोरियाले आरोप लगाएको छ । सोही सैन्य अभ्यासको जवाफ मिसाइल प्रक्षेपणबाट उत्तर कोरियाले दिएको अनुमान गरिएको छ ।

अघिल्लो हप्ताको शुक्रबार पनि उत्तर कोरियाले नयाँ प्रकारको छोटो दूरीमा मार हान्न सक्ने मिसाइल प्रक्षेपण गरेको थियो । त्यसपछि गएको बुधबार सी अफ जापानतर्फ दुईवटा मिसाइल प्रहार गरेको थियो । यस्तै गत जुलाई २५ मा पनि उत्तर कोरियाले थप दुई मिसाइल प्रक्षेपण गरेको थियो ।