भोजपुर: गृह मन्त्रालयले राम्रो दाना बनाएर बिक्री गर्न भन्दै रुद्राक्षको बोटमा नै लगाएको क्लिप हटाउन निर्देशन दिएको छ ।

ठेकेदारहरुले किसानबाट बगान खरीद गरेर रुद्राक्षको दानामा प्लाष्टिकको क्लिप लगाउने गरेका छन् । यसले दानाको साइज र आकार क्लिप अनुसारको बन्ने भएकोले ठेकेदारहरुले राम्रो भाउ पाउने गरेको छ । तर, क्लिप लगाएको दाना अप्राकृतिक भएको भन्दै आलोचना पनि भइरहेको थियो । बोटमा नै क्लिप राखेर अप्राकृतिक दाना बनाएको बिषयमा गृहमन्त्रालयले हटाउन निर्देशन दिएको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरले रुद्राक्षको दानामा लगाइएको क्लिप हटाउन शुरु गरेको छ । गृहमन्त्रालयबाट निर्देशन आएकोले क्लिप हटाउन थालेको हो, प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले भने । उनका अनुसार षडानन्द नगरपालिका–६ केउरेनीपानी र साल्मा क्षेत्रमा अहिले प्रहरीले दानाको क्लिप हटाउने काम गरिरहेको छ ।

प्रहरीका अनुसार केउरनेपानीका पीताम्बर लम्सालको बगानमा लगाइएको १ सय ६ वटा र साल्माका ज्ञानेन्द्र बस्नेतको बगानमा लगाइएको २ सय २५ वटा क्लिप हटाइएको छ । चिनियाँ व्यापारीहरुको चाहना अनुसार प्लाष्टिक क्लिपको सहायतामा रुद्राक्षको दानालाई गोलो, अन्डाकार र थेप्चो आकारमा बनाउने गरेका छन् । यो अप्राकृतिक दानाले रुद्राक्षको अन्तर्राष्ट्रिय बजारमा असर पर्ने बताइएको छ । विश्व बजारमा नेपाली रुद्राक्षको गुणस्तर बिग्रने भएकोले गृह मन्त्रालयले हटाउन निर्देशन दिएको जनाएकोछ ।

तस्बिर स्रोत: कान्तिपुर अनलाइन