भोजपुर: अन्र्तराष्ट्रिय चर्चित अल्ट्रा रेसकी खेलाडी मीरा राईको सम्मानमा भोजपुरको पौवादुम्मा गाउँपालिकाले अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने भएको छ ।

गाउँपालिकाले यो रंगशाला बनाउन डिपिआरसमेत तयार गरिसकेको जनाएको छ । गाउँपालिकाका अनुसार २६ रोपनी क्षेत्रफलमा रंगशाला तयार गरिने गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । डिपिआर अनुसार यो रंगशाला बनाउन ५६ करोड खर्च लाग्नेछ । यो रंगशाला ४ वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । रंगशालामा भिआइपीसहितको १२ हजारदेखि १४ हजार दर्शक क्षमताको प्यारापिट बन्नेछ । रंगशाला निर्माणको काम भने गाउँपालिकाले शुरुवात गरिसकेको जनाएको छ । अध्यक्षका अनुसार करिब २ करोड खर्च भइसकेको छ । हालसम्म रंगशालाको कटिङ, फिलिङ र वालिङको काम सकिएको छ ।

अल्ट्रा धाविका मीरा पौवादुम्मास्थित सानोदुम्मामा जन्मिएकी हुन् । पुर्वमाओवादी लडाकुसमेत रहेकी मीरा राष्ट्रिय र अन्र्तराष्ट्रियस्तरमा चर्चित छिन् । यो रंगशाला निर्माणको लागि गाउँपालिका, विभिन्न दातृ निकाय र प्रदेश सरकारबाट आउने बजेटले निर्माण गरिने अध्यक्ष राईले बताए । रंगशालामा फिफा मापदण्डकै फुटबल मैदान बन्नेछ । रंगशालामा फुटबल, म्याराथन, एथलेटिक्स, भलिबल खेललगायत खेल आयोजना गर्न सकिनेछ ।

गाउँपालिकाको अनुसार आर्थिक वर्ष २०७४/०७५ मा आफ्नै ५५ लाख बजेट विनियोजन गरेर लगानी गरेको थियो भने प्रदेश सरकारले दिएको १ करोड ३५ लाख लगानी भएको थियो । खेलाडी मीरा राईको सम्मानसँगै जिल्लामा खेलकुदको विकास र प्रतिभाशाली खेलाडीहरुको उत्पादन गर्ने उद्देश्यले रंगशाला निर्माण गरिन लागेको गाउँपालिका अध्यक्ष राईले बताए ।  तस्बिर स्रोत : नागरिकन्यूज