पाँचथर: काबेली करिडोर १३२ कभी प्रसारण लाइन सञ्चालनमा आएकोछ । ताप्लेजुङ र पाँचथरमा रहेको काबेली, हेवा, माई लगायतका खोलामा निर्माण भएको जलविद्युत आयोजनाको विद्युत प्रसारण लाइनको काबेली करिडोर सञ्चालनमा आएको हो ।

फिदिम (थापाटार)-अमरपुर (पाँचथर) तेस्रो खण्ड सोमबार साँझबाट संचालनमा आएको आयोजनाले जनाएको छ । यो खण्ड सञ्चालनमा आएसँगै झापाको लखनपुरबाट सुरु भएको ९१ किलोमिटर प्रसारण लाइनको निर्माण सकिएको छ । आयोजनाको लखनपुर (झापा)-गोदक (इलाम) पहिलो र सोयाक (इलाम)-फिदिम (पाँचथर) दोस्रो खण्ड यस अघि नै संचालनमा आइसकेको थियो । लखनपुर, गोदक, थापाटार (फिदिम) र अमरपुरमा १३२/३३/११ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी संचालनमा थियो ।

विविध कारणले रुग्ण बनेको आयोजनालाई निरन्तरको प्रयास र अनुगमनबाट सम्पन्न गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार अब इलाम, पाँचथर र ताप्लेजुङमा जलविद्युत आयोजना निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि पूर्वाधार पनि तयार भएको छ । यो आयोजनाबारे शुरुमा राइट अफ वेमा पर्ने जग्गाको शतप्रतिशत क्षतिपूर्ति दिनु पर्ने, रुट परिवर्तन गर्नुपर्ने लगायतका माग राखेर इलामको मंगलबारे, चमैता, सिद्धिथुम्का पाँचथरको फिदिम जोरसाल क्षेत्रका स्थानीयले प्रसारण लाइन निर्माणमा अवरोध गरेका थिए । कार्यकारी निर्देशक घिसिङ गत वर्ष आफैं आयोजनास्थलमा गई स्थानीयसँग छलफल गरी समस्या समाधान गरेका थिए ।

आर्थिक वर्ष २०६३/६४ मा सुरु भएको आयोजना निर्माणका लागि जागुअर ओभरसिज एण्ड एष्टर जेभी २३ भदौ २०६८ (९ सेप्टेम्बर २०११)मा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता १४ पुन २०६८ (२९ डिसेम्बर २०११)मा कार्यान्वयनमा आएको थियो । ३ करोड १० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र विश्व बैकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।

तेस्रो खण्ड अमरपुर सबस्टेसनमा विद्युत जोडिने २५ मेगावाटको काबेली बी १ को प्रर्वद्धक अरुण काबेली पावर र ९.९ मेगावाटको इवाखोलाको रैराङ हाइड्रोपावर डेभलप्मेन्ट कम्पनी लाइन चार्ज भएको मंगलबार जानकारी दिएको हो । ३७.६ मेगावाटको काबेली ‘ए’ आयोजनाका विद्युत पनि यही सबस्टेसनमा जोडिने छ । काबेली करिडोरको दोस्रो खण्डमा निजी क्षेत्रले निर्माण गरेका १४.९ मेगावाटको हेवाखोला ‘ए’ र २२.१ मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजना जोडिइसकेका छन् । पहिलो खण्डमा करिब ८४ मेगावाट विद्युत यसअघि नै जोडिएको थियो ।