धरान: भ्रष्टचार मुद्दामा बिशेष अदालतले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.राजकुमार रौनियार र उनका भतिज धरौटीमा रिहा भएका छन् ।

आज बिशेष अदालतमा भएको वयान र छुनथेक बहसपछि अदालतका अध्यक्ष बाबुराम रेग्मीसहितको इजलाशले उपकुलपति रौनियारलाई ४८ लाख र उनका भतिज डा.रामहरि रौनियारसँग ४ लाख धरौटी माग भएको थियो । अदालतले माग गरेवमोजिमको धरौटी बुझाएर उपकुलपति रौनियार र भतिज डा.रामहरि रिहा भएका हुन् । बिशेष अदालतका अध्यक्ष रेग्मीसहित न्यायाधिशद्धय द्धारिकमान जोशी र प्रमोदकुमार बैध श्रेष्ठको संयुक्त इजलाशले धरौटी माग गरेको थियो ।

गत असार २६ गते ठेकेदारसँग कमिशन वापतको ८ लाख घुस लिएको प्रमाणसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपकुलपति र उनका भतिजलाई प्रतिष्ठानबाटै पक्राउ गरेको थियो । अख्तियारको हिरासतमा रहेका दुवैलाई अख्तियारले आइतबार बिशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको थियो । अख्तियारले १ करोड २८ लाख रुपैया बिगो जरिवाना र १३ बर्ष कैदको माग गर्दै मुद्दा दायर गरेको थियो भने उनका भतिज डा.रामहरिलाई ८ लाख रुपैया बिगो र डेढ बर्षदेखि अढाई बर्षसम्म कैद माग गरेको थियो ।