औजार : आजको औजार दैनिकमा “डेंगु नियन्त्रण गर्न ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान प्रभावकारी बनाउन सुझाव” शीर्षकको समाचार छापिएको छ । झापामा प्रहरी हिरासतबाटै एक युवा फरार भएका छन् । विगत ३ महिना अघिदेखि धरानमा देखिएको डेंगु नियन्त्रणकालागि ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान प्रभावकारी बनाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ । सोमबार सुनसरी क्षेत्र नं. १ का संघिय सांसद् जयकुमार राईले रोग नियन्त्रण इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग छलफल गरी डेंगु नियन्त्रण गर्न आग्रह गरेका थिए । सांसद् राईले महाशाखाका कर्मचारीहरुसँग छलफल गर्दै धरानमा फैलिएको डेंगुलाई नियन्त्रणमा लिनको लागी महाशाखाले प्रभावकारी कदम चाल्न भनेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत महामारी शाखाका डा. प्रताप प्रकाश साहले डेंगु नियन्त्रण गर्नका लागी प्रभावकारी रुपमा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान चलाउनुपर्ने बताएका छन् । उनले प्रत्येक घरमा भएको पानीमा लामखट्टेका लार्भा नष्ट गर्नु भन्दा अर्काे विकल्प नभएको बताएका छन् । डा. शाहका अनुसार वर्षायाममा प्लाष्टिकमा जमेको ५ एमएल पानीमा पनि डेंगु सार्ने लामखुट्टेले लार्भा पार्ने भएकोले त्यस्तो पानी समेत नष्ट गर्नेगरी मिहिन ढंगले अभियान चाल्नुपर्ने भएको छ । सांसद् जयकुमार राईले भने पछिल्लो समय धरानमा पुनः डेंगु फैलनेक्रम बढेकोले त्यसलाई नियन्त्रण गर्न महाशाखा सकारात्मक रहेको बताए । आफुले महाशाखासँग २ घण्टा लामो छलफल गरी त्यसका विकल्पकहरुमा समेत छलफल भएको बताए । उनले सबैभन्दा प्रभावकारी उपाय भनेको ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान नै भएको निष्कर्ष निकालेको समेत बताए ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “नेकपा इटहरीमा भाँडभैलो” शीर्षकको समाचार छापिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी नगर कमिटी गठन भएको १ महिना पनि पुरा हुन नपाउँदै भाँडभैलो शुरु भएको छ । लामो समयदेखि पार्टीमा योगदान पुर्याएका नेता कार्यकर्तालाई उपेक्षा गरिएको भन्दै असन्तृष्टि चुलिएको हो । त्यसको मुख्य कारकको रुपमा नवगठित नगर सचिव काशीनाथ दंगाल रहेका छन् । नेकपाभित्र उनको अस्वभाविक पदोन्नतिले इटहरी नेकपामा हलचल मच्चिएको हो । त्योभन्दा बढी उनको व्यवहारको कारण नेकपा इटहरीभित्र धुर्वीकरण बढिरहेको छ । केहीदिन अघि सम्पन्न जनता बहुमुखी क्याम्पसको व्यवस्थापनसमितिको निर्वाचनमा नेकपाभित्रको विवाद छताछुल्ल भयो । साउन १४ गतेको लागि तोकिएको निर्वाचनमा सर्वसम्मत समिति गठन गर्ने सर्वदलिय निर्णय भयो । नेकपा, नेपाली कांग्रेस, राप्रपा र समाजवादी पार्टी नेपालबीच भद्र सहमति भयो । जसमा नेकपाको तर्फबाट उनै दंगालले वार्तासमितिको नेतृत्व गरेका थिए ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “भारतीय सुटर प्रहरी फन्दामा” शीर्षकको समाचार छापिएको छ । विराटनगर ९ स्थित मेट्रसिटी होटल एण्ड गीत गजलबाट हतियारसहित पक्राउ परेका भारतीय नागरिक विराटनगरमा खाद्यको कारोबार गर्ने व्यापारी जितु भनिने जितेन्द्र रायको हत्या गर्न आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरी अनुसन्धानमा रहेका भारत सीतामणि ग्राम पञ्चायतका २२ वर्षीय कुनालकुमार सिंहलाई पक्राउ गरेपछि भारु ५ लाखको सुपारीमा हतियारसहित व्यापारी रायको हत्या गर्न आएको अनुसन्धानबाट खुलेको हो । प्रहरीले पक्राउ गरेका रौनियार र सिंह भारतीय हुन् । प्रहरीले सिंहलाई २७ जेठमा २ थान पेस्तोल र त्यसमा लाग्ने ७ राउण्ड गोलीसहित होटलबाट पक्राउ गरेको थियो । अर्का सार्पसुटर रौनियार भने फरार छन् । भारतीय सार्पसुटर प्रयोग गरी व्यापारी रायको हत्या गर्न लगाउने मुख्य नाइके विराटनगरका मन्नुकुमार गुप्ता रहेको मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए । अनुसन्धानबाट हत्या गर्न लाउने मुख्य नाइके ३१ वर्षीय गुप्ता रहेको खुलेपछि गुप्तालाई प्रहरीले विराटनगरबाट २ असारमा पक्राउ गरेको थियो ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “पहाडमा पनि डेंगु” शीर्षकको समाचार छापिएको छ । पूर्वी पहाडी जिल्ला पाँचथरमा पनि डेंगु रोगी संक्रमित फेला परेका छन् । तराईका जिल्लाहरुमा देखिने डेंगुबाट जिल्लामा पाँच जना विरामी भएका छन् । पछिल्लो हप्ता पाँचथर जिल्ला अस्पताल र समर्पित अस्पतालमा उपचार गर्न आएका विरामीमध्ये ५ जनामा डेंगु संक्रमण देखिएको हो । धरानमा व्यापक रुपमा फैलिएको डेंगु संक्रमण पहाडी जिल्लामा पनि देखिएको हो । पहाडी जिल्लाका लागि यो नौलो भएको चिकित्सक बताउँछन् । मच्छडका कारण यसको संक्रमण हुने गर्छ । पाँचथर जिल्ला अस्पतालका निमित्त प्रमुख डा. मुकेशकुमार झाले जिल्लामा संक्रमित फेला परेको जानकारी दिए । पाँचथर जिल्ला अस्पतालमा दुई र समर्पित अस्पतालमा तीन जना विरामी फेला परेका हुन् । जिल्ला अस्पतालमा डेंगु परीक्षण गर्ने किट्स छैन ।