ताप्लेजुङ : नेपाल एयरलाइन्सलाई वाह ! भन्न लायक बनाउने घोषणा गरेर कार्यभार सुरुवात गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईको गृहजिल्ला ताप्लेजुङस्थित सुकेटार विमानस्थलमा मंगलबार करिब डेढ महिनापछि नेपाल एयरलाइन्सको नयाँ जहाजले परीक्षण उडान गरेको छ ।

सुकेटार विमानस्थलमा असार ४ गतेयता पहिलोपटक नेपाल एयरलाइन्सको चाइनिज विमान “वाई १२ ई” ले परीक्षण उडान भरेको हो । यषे उडान पूर्वी पहाडी क्षेत्रमै पहिलो भएको नेपाल वायुसेवा निगमले जानकारी दिएको छ । निगमका यहाँस्थित स्टेसन इन्चार्ज राजु कार्कीका अनुसार यो जहाजले पश्चिम नेपालका पहाडी भेगमा भने उडानको सफल परीक्षण गरेको छ । मौसम अनुकुल नहुँदा सुकेटार विमानस्थलमा असार ४ गतेपछि कुनै पनि उडान हुन सकेको थिएन ।