धरान: नेपाल कम्युनिष्ट पार्टी(नेकपा) धरानमा एकीकरण पुरा भइनसक्दै पुर्वमाओवादीको आन्तरिक किचलोले अन्तिम अवस्थामा एकता प्रक्रिया नै अवरुद्ध भएको छ ।

पुर्वमाओवादीमा २ जना नगर सदस्यको विवादको कारण एकता प्रक्रिया नै अवरुद्ध भएको हो । साउन १९ गते सपथ ग्रहणको मिति तोकिए पनि अन्तिम समयमा आएर कार्यक्रम रोकिएको थियो । सपथ ग्रहणसँगै पार्टी एकता प्रक्रिया अन्योल भएपछि बुधबार पुर्वएमालेले धरानमा आफ्नो छुट्टै अगुवा कार्यकर्ता भेला आयोजना गरेको थियो । यो भेलाले एकीकरण नहुदै नेकपामा गुटबन्दी र विवाद भएको टिकाटिप्पणी शुरु भएको छ । एकीकरण प्रक्रिया टुंग्याएर उपनिर्वाचनको तयारी गर्नुपर्ने बेला पुर्वमाओवादीको विवादले सपथग्रहण रोकिदा पुर्वएमालेका नेता, कार्यकर्ताहरुमा पनि चरम असन्तुष्टी बढेको छ ।

पुर्वएमाले नेताहरुले भने पार्टीमा गुटबन्दी र विवाद नभएको दाबी गर्दै पुर्वमाओवादीमा मात्र आन्तरिक विवाद देखिएको बताएका छन् । सपथ ग्रहण र एकता प्रक्रिया रोकिनुको कारणबारे कार्यकर्तास्तरमा बढेको भ्रम चिर्नलाई मात्र भेला आयोजना गरिएको पुर्वएमाले नेताहरुको भनाई छ । उपनिर्वाचन मिति पनि घोषणा भइसकेकोले तयारी गर्नको लागि पनि भेला आयोजना गरिएको पुर्वएमालेले जनाएको छ । ‘सपथ ग्रहण रोकिदा एकीकरण प्रक्रिया लम्बियो, यसले कार्यकर्ताहरुमा धेरै जिज्ञासाहरु उत्पन्न भएको छ, त्यसैले भ्रम चिर्नुपर्ने भएकोले भेला गरिएको हो,’पुर्व एमाले अध्यक्ष एवं नेकपाका नगर अध्यक्षसमेत रहेका नारायण सुवेदीले भने,'निर्वाचनको मिति पनि घोषणा भइसकेकोले तयारीमा जुट्न भेला भएको हो ।'

नेकपा जिल्ला कमिटि सदस्य तथा पुर्व माओवादी नेता चोत्लुङले आन्तरिक सामान्य समस्या मात्र भएको र चाडै सपथ ग्रहण हुने बताए । ‘आजको कार्यक्रमबारे थाह भएन, नेकपा ठुलो पार्टी भएकोले यो कार्यक्रम नेकपाकै भएको होला,’उनले भने,‘प्रदेश र केन्द्रमा छलफल भइरहेकोले चाडै समाधान हुन्छ ।’

के हो विवाद ?

पुर्वमाओवादीबाट धरान उपमहानगर कमिटिको नाम सिफारिश गर्न कार्यदल गठन भएको थियो । कार्यदलले सिफारिश भएको नाम जिल्ला हुदै प्रदेश कमिटिमा पुगेको थियो । प्रदेश कमिटिले अनुमोदन गरेर पठाएको लिष्टमा पहिला नगर र जिल्लाबाट सिफारिश गरेर पठाएकोबाट २ जनाको परिवर्तन गरिएको थिो । त्यही कारण अहिले पुर्वमाओवादीमा चरम विवाद देखिएको छ । साउन १९ गतेको सपथ ग्रहण रोकिनुमा पनि यही विवाद प्रमुख कारण हो ।

पुर्वमाओवादी स्रोतका अनुसार नगर कार्यदलबाट जसरथ थलङ र चन्द्रराज राईको नाम सिफारिश भएको थियो । ती दुवैको नाम काटेर प्रदेश कमिटिले खेम रणपहेली र सन्त तेम्बेको नाम थपेपछि विवाद भएको हो । नाम फेरिएर आएपछि केही जिल्ला कमिटि सदस्यहरुले प्रदेश कमिटिमा नै लिखित निवेदन दिएपछि विवाद चर्किएको हो । सतहमा यी दुई जनाको नाम थपिदा विवाद देखिए पनि पुर्वमाओवादीभित्रको गुटबन्दी मुख्य कारण हो ।

पुर्वमाओवादीका एक नेताका अनुसार धरान कार्यक्षेत्र भएका प्रदेश कमिटि सदस्यद्धय मुक्साहाङ मेन्याङ्बो (मुकेश)र अइन्द्रबिक्रम बेघाबीचको शक्ति संघर्ष मुख्य विवाद हो । मुकेशका पक्षधर चोत्लुङ(हाल जिल्ला कमिटि सदस्य) र बेघाबीच पनि टकराव छ । केही समयअघि नेकपा धरानको सचिव पदमा कसलाई पठाउने भन्ने बिषयमा चरम मतभेद, असन्तुष्टी र विवादलाई नेताहरुले सामाजिक सञ्जालमा नै छताछुल्ल बनाएका थिए । बेघाले सचिवमा उद्धव लिम्बूलाई पठाउन खोजेका थिए । तर, उनी सफल भएनन् । सचिवमा चोत्लुङ र मुकेश पक्षधरका सुर्दशन श्रेष्ठ हुने निश्चित भएका थिए । त्यो विवाद टुंगिन नपाउदै पुनः २ जना नगर कमिटि सदस्यको विवाद चर्किएको छ ।