धरान: सुकुम्बासीको नाममा लालपुर्जा दिनुपर्ने माग गर्दै नेपाल बसोबास बस्ती संरक्षण समाजले बुधबार भुमी व्यवस्था मन्त्री पद्मा अर्यालसँग छलफल गरेको छ ।

सुनसरी क्षेत्र नं १ का सांसद जयकुमार राईको सहयोगमा बुधबार समाजका पदाधिकारीहरुले मन्त्री अर्यालसँग भेट गरेर छलफल गरेका हुन् । सुकुम्बासी नेता कुमार कार्कीका अनुसार मन्त्री अर्यालसँग देशभरका सुकुम्बासीहरुलाई एकैपटक लालपुर्जा दिन माग गरिएको छ । मन्त्री अर्याललाई विभिन्न ७ बुँदे प्रस्ताव पेश गरिएको पनि उनले बताए । कार्कीले दिएको जानकारी अनुसार बसोबासको आधार बर्ष २०७२ संविधान जारी भएको बर्षलाई मान्ने र एक साथ भोग गरेको आधारमा श्रेस्ता कायम भएको रातो लाल पुर्जा बितरण गर्ने प्रस्ताव गरिएको छ ।

समाजका अनुसार पहिला सुकुम्बासी भएर पछि आवादी जग्गा सम्पती जोडेकालाई स्वेच्छिक बाहेक सुकुम्बासीको हकबाट बन्चित नगर्ने पनि प्रस्ताव छ। साथै, भुगोलको आधारमा जग्गा बितरण गर्ने पनि प्रस्ताव छ । यसरी जग्गा वितरण गर्दा कम्तिमा सुगम क्षेत्रमा १ कठ्ठा वा १० आना दुर्गम क्षेत्रमा भोग गरे जति वा नभएकालाई १ बिगाहा वा १३ रोपनी वितरणको प्रस्ताव छ । साथै, दुर्गम पहाडी क्षेत्रमा भने दोब्बर हुनुपर्ने र सँगसँगै रोजगार को ब्यबास्था पनि गर्नु पर्ने प्रस्ताव छ ।

यस्तै, एक पटकलाई कुनै पनि कुराको छानबिन नगरी जो जहाँ जसरी जुन अबस्थामा बसेको छ (जोखिम पुर्ण बाहेक) सोही ठाउँमा सुकुम्बासीको इच्छा अनुसार लालपुर्जा दिने, वन गुठी लगायत जुन प्रकृतिका जग्गा भए पनि सिमाना संशोधन गरेर बसोबास गरेकै सुकुम्बासीको नाममा स्वामित्व दिने प्रस्ताव छ । यस्तै, विगतका आयोगले बाँडेका जस्ता अबधी तोकेका पुर्जा नभइ श्रेस्ता कायम गराएर मात्र दिने ब्यबस्था गर्ने, सुकुम्बासी समस्या समाधान आयोगको नाम परिवर्तन गरि लालपुर्जा बितरण आयोग बनाउने र उक्त आयोग नेपाल बसोबासको नेतृत्वमा बनाउने पनि प्रस्ताव छ ।