ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “खानेपानीको चुनावमा भोट माग्न सरकारी गाडी” शीर्षकको समाचार छापिएको छ । खानेपानीको चुनावमा भोट माग्न नगरपालिकाका उपप्रमुखले सरकारी गाडी दुरुपयोग गरेको पाइएको छ । तत्कालिन नेकपा –एमाले) बाट निर्वाचित भद्रपुर नगरकी उपप्रमुख चन्द्रमाया श्रेष्ठले सरकारी गाडी प्रयोग गरेर घरलौरी माग्दै हिँडेकी हुन् । भद्रपुर ९ स्थित चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाई समितिका लागि हुने निर्वाचनमा उपप्रमुख श्रेष्ठले प्रयोग गर्दै आएको मे १ झ ११७ नम्बरको रातो रङको गाडी प्रयोग गरी बिहीबार बिहान प्रकाशपुर चोकमा गाडी राखेर खानेपानी उपभोक्ताको घर घरमा उम्मेदवारलाई लिएर भोट माग्दै हिँडेको पाइएको हो । सरकारी कामका लागि बाहेक अन्य काममा स्वीकृति लिएर मात्र प्रयोग गर्नुपर्ने गाडी उनले नियम उल्लङ्घन गर्दै आइरहेको स्थानीय बताउँछन् । अधिवक्तासमेत रहेकी श्रेष्ठलाई ऐनकानूनको विषयमा पूर्ण जानकारी हुदाँहुदै पनि यस्तो कार्य गरेको प्रति केही स्थानीयले आपत्तिसमेत जनाए । नेकपाबाट उम्मेदवार रहेका चूडामणि मैनालीको प्यानललाई सघाउन उनले भोट माग्दै हिडेकी हुन् ।

औजार : आजको औजार दैनिकमा “रामधुनीमा जडिबुटि प्रवद्र्धन केन्द्र बनाउन माग” शीर्षकको समाचार छापिएको छ । सुनसरीको रामधुनी क्षेत्रलाई जडिबुटि प्रवद्र्धन केन्द्र बनाउनुपर्ने यहाँका स्थानीयहरुले माग गरेका छन् । जडिबुटि तथा आयुर्वे औषधी समेत बनाउन सक्ने र बिक्री वितरणको सम्भावना बोकेको रामधुनी जंगल क्षेत्रमा जडिबुटि प्रवद्र्धन केन्द्र बनाउन आवश्यक रहेको स्थानीयहरुले बताएका छन् । रामधुनी धार्मिक, ऐतिहासिक, पर्यटकिय र जडिबुटीको उपलब्धताको हिसाबले प्रभावकारी ठाउँ भएकाले जडिबुटी प्रवद्र्धन केन्द्र निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् । रामधुनी क्षेत्र सुनसरी मोरङ सिचाई आयोजनाको नहर, सुनसरी खोलाको मुहान र सिमसार तथा प्राकृतिक जंगल भएकाले जडिबुटी प्रवद्र्धन केन्द्रका लागि उपयुक्त भएको भोक्राहा नरसिंह गाउँपालिकाका स्थानीय विनोद मेहताले बताए ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “मातृभाषा पढाउने विद्यालयमा अङ्ग्रेजी कक्षा” शीर्षकको समाचार छापिएको छ । २०५१ साल फागुन ११ गते हालको इटहरी २० तरहरामा खुल्यो मातृभाषामा पठनपाठन हुने बहुभाषिक प्रावि । मातृभाषामा पढाइ हुने पूर्वाञ्चलमा मात्रै होइन नेपालकै पहिलो सो विद्यालयको उद्घाटन गरे तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले । बहुभाषिक प्रावि स्थापनाको दोस्रो वर्षमै २०५२ सालबाट लिम्बु भाषाको कक्षा सुरु भयो । त्यसको २ वर्षपछि २०५४ सालबाट किरात राईको चाम्लिङ भाषामा पनि पठनपाठन हुन थाल्यो । २०५५ सालमा पुग्दा त मगर र तामाङ भाषामा पनि पठनपाठन हुन थाले । विद्यालयमा सबै समुदायको लोभलाग्दो आकर्षण थियो । कतिसम्म आकर्षण थियो भने सम्बन्धित भाषाका विद्यार्थीहरु बाहेकका विद्यार्थीहरु समेत चाख मानेर अध्ययन गर्थे । ऐच्छिक विषयका रुपमा राखिएका लिम्बु, चाम्लिङ, मगर र तामाङ भाषाका पाठ्यक्रम सम्बन्धित समुदायका विद्यँर्थीहरुले त पढ्थे नै । तीभन्दा अलग समुदायका विद्यार्थीहरुले पनि पढ्थे । तर यसरी ५ भाषामा कक्षा सुरु गरेको ५ वर्षपछि भने क्रमशः विद्यार्थी घट्न थाले । यी सबैका साक्षी हुन् बहुभाषिक विद्यालयका प्रधानध्यापक टेकबहादुर साम्बाहाम्फे । सम्बाहाम्फेका अनुसार २०५६ सम्म समुदाय र अभिभावकले साथ दिएर सञ्चालन भएको विद्यालय त्यसपछि अभिभावककै असहयोगमा समस्यामा पर्न थाल्यो । बहुभाषिक कक्षा सञ्चालनको उद्देश्य राखेर सुरु भएको विद्यालयमा विद्यार्थी घटेपछि अंग्रेजी भाषाका कक्षा सञ्चालन गर्न बाध्य भएको सम्बाहाम्फेले बताए ।

उद्घोष : आजको उद्घोष दैनिकमा “मुख्य अधिकृत कोइराला पौने ७ लाख घुससहित पक्राउ” शीर्षकको समाचार छापिएको छ । पूर्वाञ्चल विश्वविद्यालयको मोरङको गोठगाउस्थित चिकित्साशास्त्र संकाय डिन कार्यालयमा कार्यरत मुख्य अधिकृत गिरीराज कोइराला घूससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार अनुसन्धान दुरुपयोग अनुसन्धान आयोगको टोलीले कोइरालालाई ६ लाख ७५ हजार घूस रकमसहित बिहीबार दरबारमार्गस्थित शेपामहलबाट पक्राउ गरेको हो । उनले जोरपाटीस्थित नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान कलेजका विद्यार्थीहरुको समस्या समाधान गरिदिने भन्दै घूस लिएको अख्तियारले जनाएको छ ।