विराटनगर : अब इटहरीको यातायात कार्यालयमा लाइनमा उभिनु नपर्ने भएको छ । टोकन प्रणालीबाट कामलाई व्यवस्थित बनाइने भएको छ ।

प्रदेश नम्बर १ को सरकारले टोकन मेशिन उपलब्ध गराएको छ । यातायात ब्यवस्था कार्यालय झापा र सुनसरीलाई वायो मेट्रिक दर्ताकालागी टोकन मेसिन दिएको हो । विराटनगरमा आयोजित एक कार्यक्रममा प्रदेश एकका मुख्यमन्त्री शेरधन राई र आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले कार्यालयका प्रमुखलाई सो मेशिन हस्तान्तरण गरेका हुन् । सात लाख रुपैँयाको लागतको उक्त मेसिन अन्य कार्यालयमा पनि जडान गर्ने तयारी भइरहेको छ ।

टोकन मेशिन सुचारु भएपछि सेवाग्राहीलाई सहजता हुने इटहरीस्थित यातायात ब्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र शाखाकी कार्यवहाक प्रमुख बिन्दाकुमारी नेपालले बताइन् । उनले एक साताभित्र मेसिन सञ्चालन थालिने बताइन् । इटहरीस्थित यातायात कार्यालयमा दैनिक ३ सयदेखि ५ सय सेवाग्राही बायोमेट्रिककालागि पुुग्ने गरेका छन् ।