धरान: कम्मर मुनिको माग चल्दैन । कतै हिडडुल गर्नुपर्दा हातले टेकेर घस्रेर हिड्नुपर्ने बाध्यता । जीवन कठिनढंगले चलिरहेको थियो ।

धरान ११, मंगलबारे चोकमा वरपिपलको ठुलो रुख छ । त्यही रुखमुनि तरकारी र फलफुल बिक्री गरेर बस्छन्, ५२ बर्षीय टिका तामाङ । रुख मुनि सामान्य तरकारी र फलफुल बिक्री गरेर उनको जिविका चल्छ । कम्मर मुनिको भाग सानैदेखि चल्दैन । परिवार पनि छैन, उनी एक्लै छन् । एकदुई पाइला परर्तिर पुग्न पनि हातले टेकेर घस्रनुपर्ने बाध्यताबाट अब भने उनले मुक्ति पाएका छन् । उनी अब जही पनि मजाले गुडेर पुग्न सक्नेछन् ।

उनलाई शुक्रबार(आज) लायन्स क्लब अफ धरान बुढासुब्बाले हातले चलाउने ट्राइसाइकल वितरण गरेको छ । नेपाल लायन्स स्थापना भएको ४९ बर्ष पुगेको अवसर पारेर ट्राइसाइकल वितरण गरिएको हो । अब उनी आफ्नै हातले चलाएर ट्राइसाइकलको सहारामा चाहेको ठाउँमा पुग्न सक्छन् । ट्राइसाइकल पाएपछि उनी निक्कै हर्षित भए । बुद्धचोकबाट मंगलबारे चोक फर्कदा उनी त्यसैमा दंग पर्दै फर्किए । हुन त यसअघि पनि उनीसँग एउटा ट्राइसाइकल नभएको भने होइन । तर, त्यो अहिले भत्किएर कामै नलाग्ने अवस्थामा पुगेकोले उनी घस्रिएर नै हिडडुल गर्थे ।

tricycle2

यो ट्राइसाइकल लायन्स क्लब इन्टरनेशनल, अमेरिकाबाट सहयोग प्राप्त भएको हो । भन्सार शुल्क तिरेर धरान ल्याइएको यो ट्राइसाइकल तामाङले निःशुल्क पाएका हुन् । ट्राइसाइकलसँगै मर्मत गर्ने औजारहरु पनि दिइएको एरिया कोअर्डिनेटर दिपेन्द्र निरौलाले जानकारी दिए । उनका अनुसार यो ट्राइसाइकलको सिट तलमाथि गर्ने लगायतको सुविधा छ । वितरण कार्यक्रममा लायन्सका एरिया कोअर्डिनेशन दिपेन्द्र निरौला, जोन चियर पर्सन शान्ति श्रेष्ठ, लायन्स बुढासुब्बाकी अध्यक्ष कविता लिम्बू, लायन्स भेडेटार पाथिभाराका अध्यक्ष विष्णुराज श्रेष्ठ र धरान इष्टका अध्यक्ष राजिव दाहाललगायतको उपस्थिति रहेको थियो ।

यसरी जुट्यो उनलाई सहयोग

Tricycle1

तामाङ बिहिबार(हिजो) धरान १८ बुद्धचोकस्थित धरान इमेजिङमा भिडियो एक्सरे गर्न पुगेका थिए । त्यसक्रममा इमेजिङका प्रमुख डा.एलिन सुन्दास र प्रबन्धक दिपेन्द्र निरौलाले उनको अवस्था देखे । उनीहरु त्यतिकै बसेनन्, तामाङको शुल्क लिएनन्, भने तत्काल लायन्सकर्मीहरुसँग सल्लाह गरेर ट्राइसाइकल उपलब्ध गराउने पहल गरे । त्यसको भोलीपल्ट शनिबार(आज) नै इमेजिङ परिसरमा तामाङलाई ट्राइसाइकल वितरण गरियो ।