इटहरी : इटहरीमा तीज पर्वको अवसर पारेर महिलाहरुका लागि निःशुल्क पाठेघर जाँच गर्ने तयारी गरिएको छ ।

उद्योग वाणिज्य संघ इटहरीले आयोजना गर्न लागेको तीज विशेष कार्यक्रममा निःशुल्क स्वास्थ्य परीक्षण गर्न लागिएको हो । उद्योग बाणिज्य संघकी सदस्य सबिना कोइराला शोभाका अनुसार यहि २८ गते मंगलबार उवासंघ इटहरीको सभाहलमा महिलाहरुको पाठेघर जाँच गर्न लागिएको हो । ‘बिरामीको अवस्था हेरेर हामी निःशुल्क अप्रेसन समेत गर्ने योजना बनाएका छौँ,’ महिला उपाध्यक्ष समेत रहेकी गायत्री कटवाल भण्डारीले भनिन्, ‘हामीले यहाँ चेक गरेपछि लाग्ने औषधी समेत निःशुल्क प्रदान गर्नेछौँ ।’

उनका अनुसार तीज विशेष कार्यक्रम महिलाहरुका लागि लक्षित राखेर स्वास्थ्य जाँच गर्न लागिएको हो । नोबेल मेडिकल कलेज बिराटनगरको प्राविधिक सहयोगमा इसीजी, युसेजी, ल्यषव टेष्ट गरी स्त्रीरोग सम्बन्धी सबै रोगको परीक्षण गराउने उदेश्यले उक्त शिविरको आयोजना गरिएको उवासंघ इटहरीका अध्यक्ष भीम बहादुर पौडेलले बताए । ‘हामीले इटहरीका २० वटा वडालाई समेटेर विशेषगरी ग्रामीण भेगका महिलाहरुले उपचार गराउँनका लागि शिविर आयोजना गरेका हौँ,’ उनले भने, ‘हामीले चुनावको समयमा गरेका संकल्पको सुरुवात गरेका हँैँ ।’ पौडेलले महिनैपिच्छे विभिन्न शिविरको आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिए ।

तीज पर्वलाई श्रृजनात्मक बनाउनका लागि यो कार्यक्रम सुरुवात गरिएको उनको तर्क छ ।