धरान: स्वास्थ्यको लागि पदयात्रा कार्यक्रमको शनिबार बिहान १०० औं हप्ता पुरा भएको छ । सय हप्ता पुरा भएको अवसरमा आज शनिबार वृहतरुपमा धरानमा शताब्दी पदयात्रा कार्यक्रम आयोजना गरिएको थियो ।

स्वास्थ्यको लागि पदयात्रा कार्यक्रम सेवक अभियान नामको सामाजिक संस्थाले २०७४ भदौ ३१ बाट शुरुवात भएको थियो । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिन हिड्नुपर्ने सन्देश दिदै हरेक शनिबार पदयात्रा कार्यक्रम हुने गरेको छ । धरान १ स्थित सिंहदेवी चोकमा भेला भएर धरानेहरु विभिन्न रुटमा पदयात्रामा जान्छन् । यसले स्वास्थ्यसँगै धरानको पर्यटनको पनि प्रर्वद्धन गरिरहेको छ ।

आजको शताब्दी पदयात्रामा प्रमुख अतिथिकोरुपमा प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारी रहेका थिए । यस्तै, प्रदेश सभा सदस्यहरु सावित्रि जोशी श्रेष्ठ, उमिता बराइली, चन्द्रप्रसाद श्रेष्ठ(डिआइजी), संविधानसभा सदस्य किरण राईसहित विभिन्न पार्टीका नेताहरु, लब्ध प्रतिष्ठित व्यक्तिहरु पनि पदयात्रामा सहभागी भएका थिए । प्रमुख अतिथि भण्डारीले स्वास्थ्य रहन र धरानको पर्यटन प्रर्वद्धनमा टेवा पुगेको भन्दै कार्यक्रमको प्रशंसा गरे । मानिसको स्वास्थ्य नै धन भएको र अभियानले चेतना फैलाउने काम भएको उनले बताए ।

IMG_0263

सेवक अभियानका अध्यक्ष राजिव हलवाईका अनुसार शताब्दी पदयात्रालाई विजयपुर ट्रेल नामकरण गरिएको हो । विजयपुर ऐतिहासिक तथा धार्मिक महत्वको स्थान भएकोले सो क्षेत्रबारे जानकारी गराउने उद्देश्यले विजयपुर ट्रेल पदयात्रा गरिएको हलवाईले बताए । भविष्यमा यो रुटमा पर्यटकहरुलाई पदयात्रामा लैजान सकिने उनले बताए ।

शताब्दी पदयात्रा कार्यक्रमका संयोजक अमित थापाका अनुसार शनिबार ९.३ किलोमिटर विजयपुर ट्रेल भएको थियो । बिहान साढे ६ बजे सिंहदेवीबाट शुरु भएको ट्रेल साढे ९ बजे समापन भएको थियो । सिंहदेवीबाट शुरु भएको ट्रेल दुई धारे, दन्तकाली मन्दिर, विजयपुर चोक, अमरहाट हुदै शिवधारा, बिन्याबासिनिबाट बुद्धिकर्ण रायको दरबार हुदै जंगलबाट घुमेर पञ्चकन्या मन्दिर परिसरमा पदयात्राको एप्पल ब्रेक भएको थियो । एप्पल ब्रेकमा वडा नं १४ का अध्यक्ष कृष्ण भटराई, विपी प्रतिष्ठानका डा. बिक्रम श्रेष्ठ र अर्थशास्त्री डा.राजेन्द्र पोखरेलले मन्तव्य राखेका थिए । त्यहाँबाट पुनः पदयात्रा बुढासुब्बा मन्दिर, पिण्डेश्वर, मण्डप चोक हुदै त्रिरत्न विहार, गैरी कुँवाबाट सिंहदेवी चोकमा पुगेर पदयात्रा समापन भएको थियो ।

IMG_0266 IMG_0273 IMG_0282

hiking-1