सुनसरी: चलनचल्तीको भाउभन्दा बढी रकममा जग्गा खरीद गर्ने विश्वासमा चेक दिएर आफ्नो नाममा जग्गा दर्ता गरी ठगी गर्ने इटहरीका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ठगी मुद्दामा प्रहरीले साउन २४ गते चन्द्रकान्त काफ्ले र भगवती दाहाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुवैलाई जिल्ला अदालत सुनसरीबाट पाँचको म्याद थप भई थप अनुसन्धान कार्य भई रहेको पनि कार्यालयले जनाएको छ । प्रहरीका अनुसार ईटहरी ९ का ४३ बर्षीय बसन्त भन्ने चन्द्रकान्त काफ्ले र इटहरी ५ का ३७ बर्षिय भगवती दाहालले आफ्नो जग्गा ठगी गरेको भन्दै इटहरी ४ का ४० बर्षिय देवका सिटौलाले प्रहरीमा निवेदन दिएका थिए ।

सिटौलाका अनुसार ईटहरी २(झ) को उनको नाममा दर्ता रहेको कि.न.४९६३ को १५ घुर जग्गा ९० लाखमा खरीद गर्ने विश्वास दिलाएर चेक दिएर जग्गा आफ्नो नाममा दर्ता गराएका थिए । तर, खातामा नगद मौज्जात नभएपछि दुवैले सिटौलालाई ठगी गरेको खुलेको थियो । प्रहरीका अनुसार अनुसन्धानको क्रममा २०७३ जेठमा सिटौलाको नाममा रहेको जग्गा लोकबहादुर भण्डारी र कमला कार्कीको नाममा धितोमा पास भएको खुलेको थियो ।

उक्त जग्गा चन्द्रकान्त काफ्लेले ग्रान्ड डिजाईन गरी देवका सिटौला, लोक बहादुर भण्डारी र कमला कार्की समेतलाई झुक्याएर जग्गा चलन चल्तीको भाउ भन्दा बढी रकममा खरीद गर्छु भनेर बैंकमा धितो राख्ने बिश्वास दिलाएका थिए । काफ्लेले १५ घुर जग्गाको मोलभन्दा बढी रकम ९० लाखमा खरीद गर्ने भनेर आफ्नो नाममा राष्ट्रिय बाणिज्य बैक ईटहरीको चेक काटिदिएका थिए । उक्त जग्गा काफ्लेको सम्पर्कमा रहेका बेलवारी ४ का ४६ बर्षिय खडानन्द दुलालको हुदै ईटहरी ५ का भगवती दाहालको नाममा पास भएको खुलेको थियो ।

बैंक खातामा पैसा नभएपछि पीडित जग्गाधनी सिटौलाले पटक पटक कुरा गर्दा काफ्लेले आलटाल गर्दै बसेका थिए । केही समयपछि भने चन्द्रकान्त काफ्ले र भगवती दाहाल दुवै जना सम्पर्कविहिन भए । उनीहरु उदयपुरको त्रियुगा नगरपालिकामा डेरा लिएर लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार भगवती दाहालले आफ्नो नाममा आएको जग्गा बिक्री गर्न खोज्दा पीडित सिटौलाले थाह पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ठगी मुद्दामा जाहेरी दिएका थिए ।